बिर्तामोड : झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ ।  बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको अस्पताल प्रशासनले जनाएको हो ।

अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको अस्पतालका  जनसम्पर्क अधिकारी प्रमिश गिरीको भनाई छ । 

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने जनाएको छ ।  

बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोलाई सहज , सरल र छिटो तवरले गर्ने गरी  अस्पतालले १० वटा काउन्टरमार्फत सेवा दिने व्यवस्था मिलाएको हो । बीमार्फत आउने र पेइङबाट आउने बिरामीबीच कुनै भेदभाव नहुने स्पष्ट पारेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादव बीमामार्फत सबै प्रकारका सेवा उपलब्ध रहेको बताउँछन् । डाक्टर यादवले बीमा बोर्डले तोकेअनुसारको सेवा सुविधा हस्पिटलमा उपलब्ध रहेको बताए ।

स्वास्थ्य बीमामार्फत सेवाग्राहीले औषधि, स्वास्थ्य परीक्षण, सर्जरी लगायतमा बीमा सुविधा प्राप्त गर्नेछन् । बीमा मार्फत आउने बिरामीलाई पनि चौबिसै घण्टा इमरजेन्सी सहितको सेवा उपलब्ध गराइने अस्पताल प्रशासनले जनाएको छ । 

पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रिन्सिपल डक्टर उमेश शर्मा, हस्पिटलकी कार्यकारी निर्देशक अञ्जली कार्की लगायतको उपस्थिति रहेको थियो ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपलब्ध गराउने सुविधा थैलीको सेवासुविधा परिमार्जित गरेको छ । परिमार्जित स्वास्थ्य सुविधाको नयाँ थैली साउन १ गतेदेखि लागू हुनेछ ।

नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमा अन्तर्गत १२९० प्रकारका औषधि रहेका छन् । ३ हजार ५०० बराबरको योगदानका आधारमा सरकारले ५ जनासम्मको परिवारका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा उपलब्ध गराउने गर्छ ।

बीमा अन्तर्गतका बिरामीले अस्पतालमा टिकट बापत ५० रुपैयाँ तिर्नुपर्छ । शैयाको प्रतिदिन २५० राखिएको छ । यसअघि यो रकम २०० थियो । स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम् सेवा सुविधाको सीमा २ लाख रुपैयाँसम्म तोकिएको छ ।