झापा : झापामा पनि स्वर सम्राट नारायण गोपालको ३४ औँ स्मृति दिवस मनाइएको छ । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका महान व्यक्तित्व नारायण गोपालको स्मृति सभा इतिहास बिद प्रकाश सायमीको प्रमुख आतिथ्यमा बुधबार विविध कार्यक्रम गरी मनाएको हो ।
साहित्य चौतारीले बिर्तामोडस्थित कार्यालयमा मासिक साङ्गीतिक काव्यसभा तथा स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको पुन्य स्मृतिमा राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर पाँच वटा संस्थासहित सर्जकहरुलाई सम्मान समेत गरेको छ ।
कार्यक्रममा अध्येता प्रकाश सायमी ३० वर्षको गायन यात्रामा नारायण गोपालले १३७ गीत गाएको बताउँछन् । १९९६ असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालका गीत कालजयी छन् ।
साहित्य चौतारीले सर्जकहरु प्राज्ञ कोमल निरौला, सर्जक जीवन अधिकारी, प्राज्ञ सुमित्रा बाङ्देन (चेली), प्राडा. देबी नेपाल र कोपिला गौतम पण्डीत, पदमप्रसाद अधिकारी र समिर खरेललाई सम्मान तथा अभिनन्दन गरेको छ ।
यसैगरी साहित्य सङ्गम आठराई तेह«थुम, इलाम साहित्य संस्कृति कला प्रतिष्ठान, कन्चनजंगा साहित्यिक प्रतिष्ठान ताप्लेजुङ, जयन्द्र प्रसाई साहित्य सेवा कोष बिर्तामोड र कनकाई प्रतिभा प्रतिष्ठान कनकाईलाई सम्मान तथा अभिनन्दन गरेको छ ।
संस्थाका अध्यक्ष देबीभक्त श्रेष्ठ तथा प्रमुख अतिथि इतिहास बिद प्रकाश सायमीले उनीहरुलाई सम्मान गरेका थिए ।
स्वागत संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक हिम्मत नेम्वाङले गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलालले गरेका थिए । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।