झापा(बिर्तामोडको न्युटन्स एजुकेसन एकाडेमीमा लामो समय अध्यापन गराएका आइन्द्र सुब्बाले दुई वर्षअघि स्वेच्छिक अवकाश लिए । विद्यालयको गेटबाट बाहिरिँदै गर्दा सुब्बाको हातमा १० लाख रुपैयाँ भन्दाबढी थियो ।

विद्यालयकी शिक्षिका मीनु सिवाकोटीले पनि यस वर्ष जागिर छोडिन् । विद्यालय स्थापना हुँदा शिक्षण अभ्यास सुरु गरेकी सिवाकोटी २० लाख रुपैयाँ भन्दाबढी पैसा लिएर बाहिरिन् ।

२१ वर्षको शिक्षण अनुभवसहित शैक्षिक अवकाश रोजेकी शिवाकोटीलाई विद्यालयले स(सम्मान बिदाई गर्‍यो । सुब्बा र सिवाकोटीले विद्यालयले दिएको तलबका अतिरिक्त थप सेवा सुविधा प्राप्त गरेका हुन् ।

‘दीर्घ शिक्षण अभ्यासमा रहेका शिक्षक कर्मचारीले स्वेच्छिक अवकाशका बेला यस्तो सेवा सुविधा प्राप्त गर्छन्’, न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले भने, ‘ यहाँका स्थायी शिक्षक कर्मचारीले अवकाशका बेला खाली हात निराश भएर घर फर्किनु पर्दैन ।’

न्युटन्सका संस्थापक शिक्षासेवी हरिकुमार प्रसाईको दीर्घकालीन र फराकिलो अवधारणाको पृष्ठभूमिमा स्वेच्छिक अवकाश रोज्ने शिक्षक कर्मचारीले मोटो रकम सहितको सुविधा प्राप्त गरिरहेका हुन् ।

लामो समय पढाएर जागिर छोड्ने शिक्षक कर्मचारीका लागि न्युटन्सले उपलब्ध गराइरहेको सेवा सुविधा अरु निजी तथा संस्थागत विद्यालयका लागि समेत उदाहरणीय हुने शिक्षिका सिवाकोटी बताउँछिन् ।

‘आज म हरि सरलाई सम्झिरहेकी छु । प्रिन्सिपल सरले सेवा सुविधाको ठूलो रकमसहित बिदा गर्नु भएको छ’, सिवाकोटीले भनिन्, ‘पेशागत सुरक्षा र सुरक्षित भविष्यका लागि न्यूटन्स जस्ता विद्यालयको योगदान महत्वपूर्ण हुनेछ ।’

सरकारी शिक्षण सेवामा लामो समय बिताएका शिक्षकले अवकाश लिँदा उपदान, पेन्सन लगायतका सुविधा प्राप्त गर्छन् । तोकिए अनुसारका सुविधा पाउने व्यवस्था कानूनमा उल्लेख हुन्छ । त्यही सुविधा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले बिरलै मात्रै प्राप्त गर्छन् ।

तर, न्युटन्सले अवकाशमा जाने शिक्षक कर्मचारीलाई यस्तो सुविधा उपलब्ध गराइरहेको छ । ऊर्जाशील उमेर र समय शिक्षण अभ्यासमा खर्चिएका शिक्षक कर्मचारीलाई थप सेवा सुविधा उपलब्ध गराउन न्युटन्सले सञ्चय कोषको समेत व्यवस्था गरेको छ ।

यसबाहेक शिक्षक कर्मचारी कल्याण कोष पनि सञ्चालनमा छ ।स्थायी शिक्षक कर्मचारीले नागरिक लगानी कोषमा समेत लगानी गर्न सक्ने व्यवस्था विद्यालयले मिलाएको छ ।

यसबाहेक विद्यालयले स्वेच्छिक अवकाश लिँदा विनियम अनुसार थप रकम उपलब्ध गराउने व्यवस्था गरेको प्रिन्सिपल हुमागाईंले बताए । सामान्यतया चार वर्ष काम गरेपछि न्युटन्समा शिक्षक कर्मचारीले अस्थायी नियुक्ति पाउँछन् ।

पाँच वर्ष पूरा भएपछि उनीहरूको सञ्चय कोष काटिन सुरु हुन्छ । कोषमा आधार तलबको १० प्रतिशत विद्यालयले थपिदिन्छ । विद्यालयले स्थापना गरेको शिक्षक कर्मचारी कल्याण कोषमा नाफाको २ देखि ५ प्रतिशत रकम थपिँदै आएको छ ।

कोरोना सङ्क्रमणका बेला शिक्षासेवी प्रसाईले आफ्नो दुई वर्षको तलब कोषमा जम्मा गरिदिएको प्रिन्सिपल हुमागाईंले बताए । २०६० सालमा १५० विद्यार्थीसहित सञ्चालनमा आएको न्युटन्स बिर्तामोडको एउटा प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा स्थापित भएको छ ।

२५ जना शिक्षक कर्मचारीले सेवा प्रारम्भ गरेको विद्यालयमा अहिले १६२ जना कार्यरत छन् । तीमध्ये ५२ जना स्थायी छन् । १५०० भन्दा बढी विद्यार्थी न्युटन्समा पढ्छन् ।