सन्ताेष न्याैपाने / झापा
झापाका बाढी पीडितलाई राहत उपलब्ध गराउन थालिएको छ l असोज १८ र १९ गते आएको अविरल वर्षा पछिको बाढीका कारण झापा गाउँपालिकामा मात्रै ५००० घरपरिवार विस्थापित बनेका छन्।

विस्थापितहरूको अहिले अवस्था दयनीय र कष्टकर छ। उनीहरुलाई पहिलो चरणमा एकका लागि एक अभियानको समन्वयमा १००० घरपरिवारलाई आजबाट राहत वितरण सुरु गरिएको हो।

एकका लागि एक अभियानको अगुवाईमा संकलित रकमबाट आज झापा गाउँपालिकाका बाढी डुबान पीडित मध्ये ५ सय बढी  परिवारलाई राहत प्याकेट (प्रति परिवार रु.३०००।– बढीको खाद्यान्न र गैर खाद्यान्न सामग्री) वितरण सम्पन्न गरिएकाे अभियानका संयाेजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

अभियानकाे तर्फबाट करिब १००० परिवारलाई राहत प्याकेट जुटेको छ भने अभियानको अगुवाईमा अझै १००० परिवारलाई राहत जुटाउन आवश्यक रहेकाे संयाेजक गिरीकाे भनाई छ ।

सहयोगी सबैलाई धन्यवाद दिंदै इच्छुक संस्था तथा ब्यक्तिहरूलाई  विपदको समयमा सहयोगमा जुट्न पनि अभियानले आग्रह गरेकाे छ ।

जिल्ला बिपद व्यवस्थापन समिति  संयोजक समेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले  स्थानीय तहको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण सुरू गरिएकाे बताए ।

स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने भएकाले जिल्ला तहबाट पनि राहत जुटाएर स्थानीय तहमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री बितरण सुरू भएकाे उनकाे भनाई छ ।

साथै उनले  विपद्को बेला सहयोग गर्न इच्छुक दातृ निकाय तथा अन्य सङ्घसंस्था, महानुभावहरूलाई जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर तोकिएको स्थानीय तहमा गई उक्त स्थानीय तहको संयोजनमा राहत वितरण गर्न सक्ने जानकारी दिए ।

झापा गाउँपालिका प्राय सबै वडा , गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका लगायतका स्थानीय तहमा धेरै घरहरू डुबानमा परेका छन् ।

कैयौँ परिवार अस्थायी रुपमा विस्थापित हुनु परेको छ भने धान तथा अन्य खेतीवाली र पशुधन समेत क्षति भएको छ । झापामा ५ हजारभन्दा बढी परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

भाेली गारीगंजमा राहत वितरण गरिने जनाईएकाे छ । आज ६ सय बढीलाई २५ केजी प्रति परिवार चामल, २ केजी दाल, २ केजी नुन, आलु ५ केजी, ब्लाङकेट १ थान, मेट्रेस १ खाने तेल , पानी लगायतका सामाग्री बाँडिएकाे हाे ।

झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले पनि पालिकाले पनि राहत सहित अन्य सहयाेग गर्ने बताए ।



हालसम्म संकलन तथा प्रतिवद्धता व्यक्त भएको रकम तथा सामग्रीको विवरणः
१) एकका लागि एक अभियान २०० परिवार
२) सहारा नेपाल र फेयरमेड फाउन्डेसन ३०० परिवार
३) अन्तर्राष्ट्रिय झापाली समाज १०० परिवार
४) झापाली समाज कुवेत ५५ परिवार (रु.१,७१०००)
५) मारवाडी सेवा समिति बिर्तामोड रु.१,६३२००
६) न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ५० परिवार
७) अर्जुनधारा जलेश्वर धाम रु.५१०००
८) बिर्तामोड चिल्ड्रेन हस्पिटल रु.५१०००
९)  वैदेशिक रोजगार व्यवसायी संघ झापा रु.५१०००
१०) समर्पित फाउन्डेसन बिर्तामोड रु.५१०००
११) रोटरी कल्व अफ बिर्तामोड रु.५१०००
१२) डम्बर देउजा चारपाने  रु. ५००००
१३)  झापा उद्योग संघ रु.५००००
१४) बिपिन बजगाईं रु.३००००
१५) रोट्राक क्लब अफ बिर्तामोड  रु.२१०००
प्रतिवद्धता व्यक्त भई संकलन भइरहेको
१) झापाका सबै लायन्य क्लवहरुबाट रु. १५१०००
२) लोकनाथ चम्लागाईं बाह्रदशी २० परिवार
३) इनरह्विल क्लव अफ  बिर्तामोड मिडटाउन रु.२५०००
गैरखाद्यतर्फ
१) रोनक वंशल २०० थान ब्लाङकेट
२) रोटरी क्लव अफ मिडटाउन र रोट्राक क्लव अफ मिडटाउन बिर्तामोडबाट ५०० प्याकेट हाइजिन  किट
३) आरएसके सेल्टर अभियानबाट  १० सामुहिक २५ व्यक्तिगत गरी ३५ सेल्टर बनाउने