अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
आज साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न गर्दै चालु आर्थिक वर्ष २०८२र०८३ का लागि वनले करिब ३ करोड ४२ लाख रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ।


समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा समूहको कार्यालय परिसरमा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।
प्रमुख अतिथि गोम्देनले सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए ।उनले आगामी दिनमा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

_1736908732.jpg)
कार्यक्रममा अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने लेखा समितिका संयोजक कमल बुढाथोकीले आ।ले।प। र म।ले।प। प्रतिवेदन प्रस्तुत गरे। कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन्।
प्रतिवेदनअनुसार गत वर्ष वन पैदावारको वितरण प्रणालीमा सुधार, कैदले पर्यापर्यटन क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयारी, १४० उपभोक्तालाई निःशुल्क मौरीघार वितरण, वृक्षारोपण, ज्येष्ठ नागरिक भेटघाट चौतारी निर्माणलगायतका काम सम्पन्न भएका छन्।

नयाँ बजेटले वन संरक्षण र विकास, कार्यालय भवन व्यवस्थापन, सामुदायिक पूर्वाधार निर्माण, महिला सशक्तिकरण, विपन्न परिवार सहयोग, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण, कैदले पर्यापर्यटन प्रवर्द्धन, फर्निचर उद्योग सञ्चालन लगायतका क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा पूर्व उपाध्यक्षद्वय दुर्गाबहादुर कटुवाल र प्रेमराज चौहानलाई सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यस्तै, कर्मचारीहरुलाई कदरपत्रसहित विदाइ तथा एक सय ज्येष्ठ उपभोक्तालाई टोपी, दोसल्ला र लौरो प्रदान गरिएको थियो।
यस अवसरमा ३१ विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, ग्यास चुल्हा र सिलिण्डर वितरण गरिएको थियो भने पाँच निर्वाचन क्षेत्रबाट छनौट भएका १० विपन्न परिवारलाई खाट प्रदान गरिएको थियो। साथै नव–निर्मित ज्येष्ठ नागरिक भेटघाट चौतारी उद्घाटन गर्दै स्थानीय युथ अफ खुदुनाबारीले एक थान एलइडी हस्तान्तरण गरेको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सदस्य एकदेव खनाल, कैदले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमलगायतले मन्तव्य राखेका थिए।
स्वागत उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले गरेको कार्यक्रममा सञ्चालन सचिव उर्मिला अधिकारी कटुवालले गरेकी थिइन्।