बैशाख । 

झापाको कनकाई ४ का पाँच परिवार वर्षौंदेखि बस्दै आएको ठाउँबाट विस्थापित हुने चिन्तामा छन् । कनकाई–४ स्थित कोटिहोम दक्षिण रहेको कविरकुटी नजिकै २०२५ सालदेखि बस्दै आएका उनीहरु पाँच परिवार विस्थापित हुने त्रासमा छन् । 

यहाँस्थित धार्मिक संस्था वचन वंशी कविर आश्रमले आफ्नो दाबी गर्दै आएको २ बिगाहा १६ कठ्ठा जग्गामा रामप्रसाद सिटौला, नैनाकला मिश्र, दिनेश मैनाली, देवेन्द्र मिश्र र दयाप्रसाद उप्रेतीको परिवारको बसोबास छ । 

आश्रम र भोग चलन गर्दै आएका परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको छ । २०२५ सालदेखि आफूहरु बस्दै आएको उनीहरुले न्याय माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेको र अदालतले समेत आफूहरुको पक्षमा फैसला गरेको पाँच परिवारमध्येका एक दिनेश मैनालीले बताए ।  

“कविर आश्रमको नाममा धनीपूर्जा रहे पनि सर्वोच्चले धनीपूर्जा बदर गरिसकेको छ”, उनले भने, “सर्वोच्चले पनि वास्तविकता बुझेर फैसला गरिसकेको छ ।” सर्वोच्च अदालतको आदेश विपरीत कनकाई नगरपालिका र कनकाई–४ वडा कार्यालय आफूहरुलाई उठिबास गर्न खोजेको उनले बताए । 

जग्गाको विवाद किनारा नलागी नगरपालिकाले घेराबारा गर्नु अनौठो भएको उनको भनाइ छ ।

हजुर आमाहरु हरिमाया र तुलसादेवी सिटौलाको पालामा घना जंगल फडानी गरेर बस्दै आएका र आफुहरुका बुवा रामप्रसाद र आमा टीकामाया अझै पनि त्यही बस्दै आएको रामप्रसादका छोरा भीमप्रसाद बताउंछन्  । 

विसं. २०५२ सालमा कविरकुटी आश्रम स्थापना भएपछि जग्गाका विषयमा धेरै विवाद भएपछि आफूहरुले सर्वोच्च अदालतमा रिट दायर गरेको दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतले भोकचलन गर्नेको हकमा फैसला गरिदिएको थियो ।

‘भूमि आयोगले प्रदान गरेको निस्सा पनि प्राप्त गरिसकेका छौं’, मैनालीले भने, ‘सार्वजनिक जग्गाको संरक्षण गर्न नगरपालिकाले घेराबारा गरेको हो भने नगर क्षेत्रमा अरु पनि जग्गा छन्, अरुहरुले पनि भाग गरिरहेका छन्, त्यहाँ पनि नगरपालिकाले घेराबारा गर्नुपर्यो ।”

त्यहाँ बसोवास गर्ने चन्द्रकला उप्रेती, नैनाकला मिश्र, रामप्रसाद सिटौलालगायतले आफूहरुले वर्षौंदेखि जोतभोग गर्दै गरेको जग्गा हुनुका साथै निस्सासमेत प्राप्त गरिसकेकाले जोतभोग गर्न पाउनु पर्ने बताएका छन् ।

यता, कनकाई विकास धाम संस्थाका अध्यक्ष शेरबहादुर थापाले नगरपालिकाले सम्बन्धित बसोबासीसँग बसेर छलफल गरेर निकास निकाल्नुपर्ने बताउंछन् । उनले स्थानीयलाई विस्थापित नगरी नगरले समस्या समाधान गर्नुपर्ने जोड दिए । 

 त्यहाँ बसोबास गर्ने बषौंदेखि बस्दै आएको प्रमाण देखिएकाले उनीहरुलाई विस्थापित नगरी धार्मिक संस्था कविरकुटी आश्रमलाई पनि स्थापित गर्नुपर्ने उनको भनाई छ । 

उता, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले त्यहाँ बसोबास गर्नेलाई हटाउने योजना नरहेको बताए । अन्यत्रबाट अतिक्रमण हुन सक्ने भएकाले नगरपालिकाले घेराबारा गरेको उनको भनाइ छ । 

 निस्सा दर्ता पनि भएकाले नगरले हटाउनु पर्ने अवस्था आए कुनै व्यवस्था गर्न सक्ने उनले बताए ।  कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले त्यहाँ बस्ने अधिकांशको बाहिर आफूलाई पुग्दो सम्पत्ति भएको बताउँदै त्यो जग्गा अतिक्रमण गरेर बसेकाले नगरले नीति निर्माण गरेर हटाउने बताए ।  

नगरमा अन्यत्र जग्गा नभएका भूमिहीन सुकुम्बासीलाई त्यहाँ व्यवस्थापन गर्न सकिने भएकाले त्यसको छानविन गरेर हटाउन सक्ने उनको भनाइ छ ।

कनकाई नगरपालिकाले श्री कविर कुटी घेराबारा उपभोक्ता समिति गठन गरेर घेराबारा गरेको छ । गत २०८१ चैत ११ गतेदेखि निर्माण शुरु र २०८२ बैशाख ३० गते समाप्ति मिति राखेर नगरको नौ लाख र उपभोक्ताबाट ४७ हजार ७०८ रुपैयाँ ५७ पैसाको लगातमा घेराबार गरिसकेको छ । आफूहरुको आवागमन समेत अवरोध गरेर नगरपालिकाले घेराबारा गरेको पीडित परिवारको गुनासो छ ।

आफूहरुले लगाएको बाली उखेलिदिने, नष्ट गरिदिने, घाँसपात काटेर आफूखुसी लाने, एक राजनीतिक दलको भातृ संगठनको सिमल तरुल खेती गर्ने भन्दै हट्न दबाब दिने, फलेको कटहर आफूखसी टिपेर लाने गरेको पीडित परिवारको भनाइ छ ।