सन्तोष न्यौपाने ÷झापा
भारत, सिलिगुडीका चिरपरिचित चिकित्सक फिजिसियन डा. पीडी भुटियाप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको छ । डा. भुटियाको चिकित्सकीय क्षमता मात्र नभई बिरामीहरुलाई उनले गर्ने व्यवहार, उनले दर्शाउने सेवाभाव र आदर–सम्मानका कारण पनि उनलाई सबै वर्गका सेवाग्राहीले विश्वास गर्ने गरेका हुन् ।
        
    
डा. भुटियाको असल व्यवहारलाई बुझ्ने बिरामी हुन् वा अन्य — जोकोहीले भन्ने गर्छन् – ‘वास्तवमै डाक्टरहरु यस धर्तीका भगवान नै हुन् ।’
गरिबी अनि अभावलाई नजिकबाट आत्मसात गरेका डा. भुटियाले सिलीगुडीको माटीगाडामा विवे हेल्थकेयर नामक क्लिनिक खोलेका छन् — जहाँ हरेक दिन सयौँ बिरामीले सेवा पाइरहेका छन् ।
        
                        
            
        
    

उनको क्लिनिकमा आउने अधिकांश बिरामी उनको उपचारबाट सन्तुष्ट हुने मात्र होइन एउटा दरिलो आत्मविश्वास पनि लिएर फर्किने गरेका छन् । बिरामीको उपचार गर्दा भुटियाले कहिल्यै पनि पैसालाई महत्व दिने गर्दैनन् । कसरी हुन्छ बिरामीको रोगको निदानमा केन्द्रित हुन्छन् । उनको क्लिनिकमा पुग्ने बिरामीले पैसाकै कारण उपचार नपाएर फर्कनु पर्दैन ।
        
    
डा. भुटियाले गरीब, असहाय, दीन–दुःखी, सेना वा अद्र्धसैनिक बलका जवानहरु, एकल महिला, क्यान्सरपीडित, चिया बगानमा काम गर्ने मजदूरहरुलाई निःशुल्क उपचार गर्छन् र आवश्यक औषधिसमेत दिन्छन् ।
आफूबाट उपचार हुन नसक्ने त्यस्ता बिरामीका लागि विभिन्न ल्याबहरुमा जाँच शुल्कमा भारी छुट दिन सिफारिस पनि गरिदिन्छन् ।
डा. भुटियाको जन्म कालिम्पोङ जिल्लाको लावा शेर्पा गाउँको गरीब परिवारमा भएको हो । उनको बाल्यकाल गरिबीमा बित्यो । यद्यपि, उनले शिक्षालाई महत्व दिए र, अभावकै बीचमा पनि उनले चिकित्सा शिक्षा रोजे । आफ्नो मेहनत र परिश्रमले उनी पढाइमा सधैँ अब्बल रहे ।
डा. भुटिया आफ्नो विगत बारे भन्छन्– ‘मेरो बाल्यकाल अभाव र गरिबीमा बितेको छ, त्यसकारण मलाई थाहा छ गरिबी र अभावको पीडा कस्तो हुन्छ भन्ने ।’ उनले त्यस्तो सरकारी स्कूलबाट आफ्नो माध्यमिक तहसम्मको पढाइ पूरा गरे जहाँ विद्याथीलाई बस्ने बेञ्चसमेत थिएन । उनी १२ कक्षा पढ्दै गर्दा उनका पिता एनएस भुटियाको निधन भयो । त्यसले उनको परिवारमा थप पीडा दियो । तथापि उनले आफ्नो हिम्मत कहिल्यै हारेनन् भने आमा मधु भुटियाले पनि उनलाई हौसला मात्र दिइरहिन् ।
आमा मधुले पान बेचेर बनाइन् छोरालाई डाक्टर
प्रत्येक आमाबाबुलाई आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने चाहना हुन्छ । डा. भुटियाकी आमा मधुको पनि त्यस्तो चाहना थियो । तर, आर्थिक अभावका कारण सबैको चाहना पूरा नहुने रहेछ । यद्यपि मधुले हिम्मत हारिनन् र छोरालाई डाक्टर बनाएरै छोड्ने अठोट लिइन् । उनको अठोटले मूर्त रुप पाइसकेको छ । मधुले छोराको चिकित्सा पढाइको लागि विभिन्न वैवाहिक वा अन्य मांगलिक समारोहमा पान बेच्न थालिन् । त्यसबाट भएको आम्दानीले घरखर्चसँगै छोराको पढाइ खर्च पनि जुटाउन थालिन् । विगत सम्झँदै डा. भटिया भन्छन्– ‘मलाई पढाइमा असाध्यै रुची थियो ।

डाक्टर बनेर गरीब–दुःखीको सेवा गर्ने रहर थियो । मेरी आमाले मेरो भावना बुझ्नुभएको थियो र दिनरात दुःख गरेर मलाई पढाउनु भयो । मैले एमबीबीएस गर्न पाएँ । पछि एमडी पनि गरेँ र एक नीजी अस्पतालमा काम गर्न थालेँ । तर, मेरो मन गरीब–दुःखीको सेवा गर्ने थियो, त्यो त्यहाँ सम्भव थिएन र सन् २०१६ मा माटीगाडामा आफ्नै क्लिनिक खोलेँ ।’ उनले क्लिनिक सञ्चालन गरेको पहिलो दिनदेखि नै सेना, बीएसएफ, आइटीबीटी, एसएसबी, सीआरपीएफ, बीपीएल कार्ड होल्डर्स, चिया बगानका मजदूर, क्यान्सर रोगी, पश्चिम बंगाल पुलिस, सिविक वॉलेंटियर्स, शहीद विधवालगायत गरीब–विपन्नहरुलाई निःशुल्क सेवा तथा सल्लाह–सुझाव दिन थाले । आजपर्यन्त उनले आफ्नो त्यो कर्तव्यलाई छोडेका छैनन् ।

उनले आफ्नो क्लिनिक अगाडि निःशुल्क सेवाको बोर्ड नै टाँगेका छन् । किनभने यस बारे सबैलाई जानकारी होस् भन्ने उनी चाहन्छन् । यसरी उनले अधिकतम निःशुल्क सेवा दिइरहँदा शुल्क चाहिँ कोसँग लिन्छन् त ? उनी भन्छन्– ‘सबै गरीब मात्रै आउँदैनन् नि, जो दिनसक्ने हुन्छन् उनीहरुले फिस दिन्छन्, त्यति नै मेरो लागि पर्याप्त हुन्छ ।’
‘गरीब र वर्दीधारीसँग फिस लिनु अनुचित सम्झेँ’
डा. भुटियाले क्लिनिक सञ्चालन गरेको केही समयपछि नै सम्झिए — गरीब र वर्दीधारीसँग फिस लिनु अनुचित छ । उनी भन्छन्– ‘जब कोही सैनिक सीमामा हाम्रो लागि ज्यानको बाजी लगाएर सुरक्षा दिइरहेको छ, तर हामी उसको वा परिवारको उपचार गर्दा फिस लिइरहेका छौँ, सीमा रक्षाका लागि लड्दालड्दै कोही सैनिकले वीरगति प्राप्त गरेको छ र उसकी विधवा पत्नी सेवा लिन मेरोमा सेवा लिन आउँदा फिस लिइरहेको छु, कुनै गरीब वाध्यताले उपचार गराउन आएको छ तर उसँग म फिस लिइरहेको छु । यसमा मेरो मनले मानेन फिस लिन ।

अनततः मैले बोर्ड नै राखेर यस श्रेणीका बिरामीको उपचार गर्दा फिस नलिने र उनीहरुको थप उपचारमा सहयोग गर्ने निर्णय गरेँ र त्यहीअनुसार अघि बढेँ । मलाई यसैमा खुशी छ ।’
स्मरणाीय छ, अहिले डा. भुटियाको यिनै गुणको चर्चा सिलिगुडीमा मात्र होइन पूर्वोत्तर भारतभरि साथै नेपाल भरी नै छ । अहिले उनको क्लिनिकमा अधिकाशं नेपाली बिरामी उपचारकालागि पुग्ने गरेका छन् । सस्तो , गुणस्तरीय र सल्लाह , सहयोग सहितको उपचार पाउंदा नेपाली बिरामी पनि उनीबाट सन्तुष्ट छन् । उनी सबैलाई रोग लागेर अस्पतालमा आउनु भन्दा , रोग लाग्न नदिन सबैले शारिरिक ब्याम र खानपानमा ध्यान दिनु पर्ने बताउंछन् । बिरामी नहुने उपायहरु गर्न सबैलाई आग्रह समेत उनले गरेका छन् ।
नेपालका उनको सेवा समर्पणको उच्च सम्मान गर्दै पश्चिम बंगाल सरकारले उनलाई बंग रत्न अवार्ड सम्मानित गरिसकेको छ ।
सकारात्मक सोचको विकास गर्न सबैले जरुरी भएको बताउंदै सामाजिक भावना सबैमा जाग्न आवश्यक रहेको उनको भनाई छ ।
        
                    
        
        
                            
                                                            
        


        
        




































