झापा– नयाँ वर्षको सुरुवातसँगै पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, जातपुरिया, गनगाईलगायत आदिवासी समुदायको सिरुवा पर्व सुरु भएको छ । बैशाख १ गतेदेखि तीन दिनसम्म मनाइने सिरुवा पर्व आदिवासी बस्तीहरुमा हर्षोल्लासका साथ मनाइँदैछ ।
आज बैशाख १ गते सिरुवा पर्वको पहिलो दिन ‘पानी सिरुवा’ मनाइँदैछ । पानी सिरुवाका दिन एकआपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा खेल्ने चलन छ । विहानै ठूलाबडाको खुट्टामा पानी राखेर शीर झुकाएर आशिर्वाद लिने तथा ठूलाबडाले आफूभन्दा सानाको टाउँकोमा पानी राखेर आशिर्वाद दिने चलन छ । ठूलालाई सम्मान तथा सानालाई आशिर्वाद दिने कार्यक्रम सकिएपछि आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा खेल्ने चलन छ । आपसमा पानीले भिजाउदा नयाँ वर्षभरी सितलता प्रदान गर्ने, शरीरमा नयाँ उमँग र उर्जा प्रदान हुने विश्वासका साथ पानी सिरुवा खेल्ने चलन रहेको राजवंशी समुदायका अग्रजहरुको भनाई छ ।
बैशाख २ गते ‘काद सिरुवा’ खेल्ने चलन छ । आपसमा हिलो छ्यापाछ्याप गरेर काद सिरुवा खेल्ने चलन छ । आफूभन्दा ठूलासँग माटोको टिका लगाएपछि काद सिरुवा खेल्न सुरु गरिन्छ । आदिवासी भूमिपुत्र राजवंशी जातिले काद सिरुवाको दिन कुल देवताको पूजापाठ गर्ने चलन छ । सोही दिन नजिकैको नदी वा तलाउमा गएर ‘घाटोसरी’ माताको पूजा गर्ने चलन पनि रहेको छ । बिहान कुल पूजा, बेलुका ‘घाटोसरी’ पूजा गरेपछि राति कुल गुरुद्वारा पूजा गरेर आफ्नो घर परिवारलाई तान्त्रिक शक्तिबाट सुरक्षित राख्ने चलन छ ।
त्यस्तै बैशाख ३ गते ‘रंग सिरुवा’ खेल्ने चलन छ । वर्षभरी जीवन विभिन्न रंगजस्तै रंगिन होस् भन्ने कामना गर्दै आपसमा रंग लगाईदिएर रंग सिरुवा खेल्ने चलन रहेको पूर्व जनप्रतिनिधि एवं कनकाई नगरपालिका–९ निवासी प्रेमप्रसाद राजवंशीले बताए । सिरुवा पर्व राजवंशी जातिको सबैभन्दा ठूला पर्व हो । बैशाख पहिलो दिन १ गते पानी सिरुवा खेलेपछि गाजी–मुरी ९चना–भुजा०, दालेर बरी ९दालको बरी० र सातसागी ९अघिल्लो वर्ष फलेका ७ वटा सब्जी एकै ठाउँमा मिसाएर पकाएको सब्जी० खाने चलन छ ।








































