झापाकाे बिर्तामाेड ४ मा मुख्य कार्यालय रहेकाे सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी साबुन, फिनेल तथा हार्पिक बनाउने सम्बन्धी दुईदिवसीय तालिम सन्चालन गरेको छ ।

महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

Screenshot_20260427_081406_Facebook

गरामनी सेवा केन्द्रको व्यवस्थापनमा सञ्चालित तालिममा बिर्तामोड, गरामनी, भद्रपुर लगायत स्थानबाट करिब ४० जनाको सहभागिता छ ।

तालिमको सहजीकरण अस्मिता संग्रौलाको टिमले गरिरहेको छ । यस्तो तालिम झापाका विभिन्न स्थानमा गरिँदै आएको र यो पाँचौ चरणको तालिम भएको संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए ।

सिम्रिकले आयोजना गरेको  उक्त तालिममा सहभागीहरूले व्यवहारिक अभ्याससहित सरसफाइ सामग्री उत्पादन गर्ने तरिका सिकिरहेका  छन्।

तालिममा प्रशिक्षकहरूले साबुन, फिनेल र हार्पिक निर्माणका लागि आवश्यक कच्चा पदार्थ, मात्रा मिलाउने विधि, उत्पादन प्रक्रिया तथा गुणस्तर कायम गर्ने उपायहरूबारे विस्तृत जानकारी गराएको संस्थाको गरामनी सेवा केन्द्र प्रमुख कल्पना भट्टराईले जानकारी दिईन ।

साथै, तयार गरिएको सामग्रीको बजारीकरण तथा व्यवसायिक रूपमा कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।  

सहभागी महिला सदस्यहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै सानो लगानीबाट आम्दानीको स्रोत सिर्जना गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

यस्ता तालिमले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने तथा स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको संस्थाको कोषाध्यक्ष मेहरमान बिष्टले बताए ।

संस्थाका सदस्यहरुले आर्थिक समस्याकै कारण   उद्यमशील बन्नबाट बन्चित हुनु नपर्ने भन्दै शिक्षा तथा तालिम उपसमितिका सदस्य बद्री प्याकुरेलले उद्यम गर्न चाहनेलाई सहकारीले कर्जा प्रवाह गर्ने जानकारी दिए ।