सन्ताेष न्याैपाने , झापा 

निर्माण व्यवसायी संघ झापाले इन्धनजन्य सामग्री तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै उद्योगमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संघले बुधबार संघकाे सभाहलमा पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको हो ।

निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धनमा भएको मूल्यवृद्धिले आर्थिक भार परेको भन्दै निर्माण उद्योगमा तत्काल ‘आपतकाल’ घोषणा गर्न संघका अध्यक्ष रमेश अधिकारीले माग गरेका छन् । 

आपतकाल घोषणा गरी व्यवसायीलाई राहत दिन अध्यक्ष अधिकारीले  माग गरेका हुन् । 

निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा पटक/पटक भइरहेको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको संघका अध्यक्ष अधिकारीकाे भनाई छ । 

यहीँ अवस्था रहे निर्माण कार्य पूर्णरुपमा रोकिने पनि संघले चेतावनी दिएको छ ।

इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण कार्यमा व्यापक प्रयोग हुने सामग्रीमा समेत निरन्तर मूल्यवृद्धि भइरहेको र बजारमा अभाव देखिन थालेकाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको  निर्माण व्यवसायी माैसम थापाले बताए । 

पत्रकार सम्मेलनमा संघले क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्र थप प्रभावित भएको जनाएको छ।

निर्माण उद्योगको यस्तो विषम अवस्थाबारे नेपाल निर्माण व्यवसायी महासंघले पटक-पटक सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधान हुने गरी कुनै ठोस निर्णय नभएको संघको महासचिब पुषपराज निराैलाकाे भनाइ छ ।