झापा
झापाकाे बिर्तामोडमा रहेकाे बिर्तामोड चिल्ड्रेन अस्पतालले नयाँ वर्ष २०८३ को अवसरमा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएकाे छ ।
अस्पतालले आज शुक्रबार बिर्तामाेडमा पत्रकार सम्मेलन गरी यही बैशाख ७ देखि २१ गतेसम्म नवजात शिशुदेखि बालबालिकासम्मका लागि स्वास्थ्य परीक्षण तथा उपचार सेवा निःशुल्क गरिने जनाएको हो ।
शिविरमा अत्याधुनिक जापानिज प्रविधियुक्त उपकरणमार्फत बालरोग, पोषणसम्बन्धी समस्या तथा जटिल स्वास्थ्य अवस्थाको पहिचान गरी अनुभवी चिकित्सक र नर्सिङ स्टाफबाट सेवा प्रदान गरिने डा. आचार्यले बताए ।
बालबालिकालाई सहज पहुँचमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनालीले बताइन् ।
अस्पतालले स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरी आवश्यक परे अन्य स्थानमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न सकिने समेत जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार मदन गोपाल सुब्बा लगायतले आफ्नो धारणा राखेका थिए । उनले दक्ष चिकित्सकबाट गुणस्तरीय सेवा अस्पातलले उपलब्ध गराई रहेकाे बताए ।









































