झापाको बिर्तामोडमा अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको आज बुधबार परीक्षण गरिएको हो । स्वीस सरकारको सहयोगमा सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इन्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ ।

कामक्ष एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीय स्तरमै पाइनले सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताए ।  मेसिन परीक्षणकै क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताए ।  “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएइएको हो उनले भने, “एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार पर्छ ।”

उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले जानकारी दिए । 

“हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौं”, उनले भने, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”

मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैंची ग्रेडिङको काम हुने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउंछन् ।  “अहिले हाते जालीबाट अलैंची ग्रेडिङको काम भइरहेको छ”, अध्यक्ष भट्टराई भन्छन्,  “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”

केही अलैंची व्यवसायीले भारतबाट मेसिन खरीद गरेर अलैंची ग्रेडिङ गरिरहेको उनी बताउंछन् । “भारतबाट ल्याइने मेसिन महँगो छ, एउटा मेसिनको करिब १० लाख रुपैयाँ पर्छ”, उनले भने, “अहिले परीक्षण गरिएको मेसिन ५० हजारमै पाइने बुझेका छौं, यसले किसान र व्यवसायलाई सहज हुने देखिन्छ ।”

WhatsApp Image 2024-03-13 at 08.24.33 (1)

                           हाते जाली मार्फत मजदुरहरु अलैंची ग्रेडीङ गर्दै 

मेसिनबाट तीन प्रकारको अलैंची ग्रेडिङ हुनेछ । जम्बो जेट (जेजे), सुपर डिलक्स, चलन–चल्तीको गरी तीनवटा आकारको अलैंचीको दाना ग्रेडिङ हुने जनाइएको छ । पहाडी जिल्लामा उत्पादित अलैंची झापाको बिर्तामोडमा भण्डार भएर ग्रेडिङ पश्चात भारत निर्यात हुने गर्दछ । 

मेशिन परिक्षण कार्यक्रममा महासंघका महासचिव नारायणप्रसाद चिमरिया, कार्यकारी अधिकृत अनिल ढुङ्गाना, व्यवसायी रोशनलाल अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।