भारत, बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ मात्र भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको 

सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताएका छन् ।  सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी–व्यवसायी मारमा परेको उनको भनाइ छ । 

एकै प्रकारका वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगबाट कुनै समस्या नभएको बताउँदै उनले विदेशबाट न्यून गुणस्तरीय वस्तु आयात हुँदा समस्या भएको बताए । 

“भन्सार दाखिला गर्दा एचएस कोडमा जुस लेखेर फ्लेवर आयात भइरहेको छ”, उनले भने,  “यो नै नेपाली उद्योगको मुख्य चुनौती हो, जसले उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको छ ।” 

नेपाली उत्पादन युरोप, अमेरिका लगायतको मुलुकमा निर्यात भइरहेको र यसले नेपाली उत्पादनको प्रबद्र्धन र बजारीकरणमा ठूलो टेवा मिलेको उनको भनाइ छ ।

नेपालमा जुस आयात गर्न पाइने भए पनि फ्लेवर मात्र भएको पेय पदार्थ आयात प्रतिबन्धित रहेको उद्योगका सञ्चालक रमेश शर्माले बताए । 

 उद्योगमा चाहिने कच्चा पदार्थ आयात गर्दा कर लाग्ने र सोबाट तयारी भएको वस्तुमा पुनः कर लिँदा उद्योगी थप मारमा परेको उनको भनाई छ ।  “दोहोरो करले व्यवसायी मारमा परेका छन्”, उनले भने,  “जसले गर्दा उत्पादन लागन बढी हुँदा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकिएको छैन ।”

 सात वर्षअघि स्थापना भएको सिंगापुर बेभरेजले सफ्ट ड्रिङ्कस र जुस गरेर ३२ वटा भन्दा बढी प्रकारका पेय पदार्थ बिभिन्न  स्वादमा उत्पादन गर्दै आएको छ । ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेय पदार्थ युरोप, अमेरिका लगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ ।