सन्तोष न्यौपाने÷झापा
पर्यटन आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण पाटो हो । विश्वका धेरै मुलुकका लागि पर्यटन दिगो विकासको महत्वपूर्ण अंग बनेको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर दिगो विकास हासिल गर्न सफल भएका छन् ।
पर्यटनले आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सिर्जना, आम्दानी तथा उत्पादन बृद्धिजस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ ।
नेपाल पर्यटनको अपार संभावना भएको मुलुक हो । नेपालको तराई, पहाड र हिमालका बेग्लाबेग्लै हावापानी, रहनसहन, रीतिरिवाज, परम्परालाई पर्यटनसँग जोडेर यी भूगोलका फरक–फरक उत्पादनलाई एकैसाथ समायोजन गरी समग्र प्रक्रियालाई राष्ट्रियस्तरमा नै जोड्ने आधार निर्माण गर्न सकिन्छ ।
यस्तै, पर्यटन र होटल व्यवसायबीच ‘नङ र मासु’को सम्बन्ध रहन्छ । मुख्य रुपमा विदेशी पर्यटकलाई सुविधाजनक बसाइ, भ्रमण र सन्तुलित खानाको प्रवन्ध मिलाउन होटलहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
यसअर्थमा, होटल क्षेत्रले पर्यटनमार्फत देशमा विदेशी मुद्रा भित्र्याउँदै देशको समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याइरहेको हुन्छ भन्दा अन्यथा नहोला ! त्यसो हो भने मुलुकको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र उकास्नमा उनको योगदान पनि कम छैन, किनभने उनी एक सफल र उच्चकोटिका होटल व्यवसायी हुन् । उनी अर्थात् प्रकाश गौतम ।
वि.सं. २०२६ साल असार २९ गते राजधानी काठमाडौंमा आमा चन्द्रकुमारी तथा बुबा वीरबहादुर गौतमको कान्छो पुत्ररत्नको रुपमा जन्मिएको एउटा आँटिलो, जोशिलो र सफल उद्यमी–व्यवसायीको नाम हो — प्रकाश गौतम । जो, अहिले नेपालमै स्थापित व्यवसायीको रुपमा परिचित मात्र छैन रोजगारीका लागि खाडी, युरोप र अमेरिकातिर जाने मनसायका साथ भौंतारिइरहेका सयौं बेरोजगार युवालाई आफ्नै माटोमा परिश्रम गर्न सिकाउँदै र रोजगारी दिँदै एक जिम्मेवार रोजगारदाताको पहिचान पनि बनाउँदै गइरहेको छ ।
चार दिदी र एक दाजुसहितको संयुक्त परिवारको काठमाडौं बसाइ । सर्वाधिक महँगो ठाउँ । जीवनयापन सारै अप्ठ्यारो नभए पनि निकै सुविधाजनक पनि थिए । तथापि, प्रकाशले काठमाडौंको सुपरिचित दरबार हाईस्कूलबाट २०४१ सालमा राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनले कमर्स विषय लिएर पब्लिक युथ कलेजबाट स्नातकसम्म अध्ययन गरे । विद्यार्थीकालमै स्वरोजगार बन्ने, आफ्नो खुट्टामा आफैं उभिने दृढ इच्छाशक्ति बोकेका उनलाई होटलै–होटलको सहर काठमाडौंको दृश्यले उत्कृष्ट होटल व्यवसायमार्फत पर्यटन क्षेत्रमा समर्पित बन्न प्रेरित गरिरह्यो ।
स्नातक पढिसकेपछिको खाली समयलाई सदुपयोग गर्ने सोच बनाएका उनलाई आफनो सपनालाई मूर्त रुप दिने मौका त्यतिखेर प्राप्त भयो, जतिखेर उनले आधुनिकताको चरमोत्कर्षमा पुगिसकेको विश्वको एक प्रमुख पर्यटकीय गन्तव्य जापान जाने अवसर पाए । उनले त्यहाँ रोजगारीकै सिलसिलामा पर्यटन तथा होटल व्यवसाय क्षेत्रको सफलताका विधि–सूत्र सिके, अनुभव बटुले ।
चाहेको भए उनी अहिले पनि जापानमै बस्न सक्नेथिए र विलासी जीवन बिताइरहेका हुन्थे । तर, उनलाई त्यहाँको विलासिताले छोएन । त्यहाँ सिकेको सीप, क्षमता र अनुभव नेपालमै ‘छताछुल्ल’ पोख्न आतुर उनी नेपाल फर्किए ।
यो आजभन्दा अढाईदशक अघिको कुरा हो । झण्डै २६ वर्षअघि नेपाल फर्किएका गौतमले वि. सं २०५५÷०५६ मा काठमाडौंको व्यस्त बजार ठमेलमा ‘ग्रीन भ्याली बार एण्ड रुफटप रेष्टुरेन्ट’ सञ्चालन गरेर पर्यटन तथा होटल व्यवसायमा पदार्पण गरे । व्यवसायको सुरुआती चरणमै ठूलै लगानीको आँट गरे उनले ।
यताउति गरेर झण्डै पाँच करोड लगानी गरेर व्यवसाय सुरु गरेका उनले सुरुमै ६० जनालाई रोजगारी दिए । एउटा व्यवसायमा मात्र चित्त बुझाएनन् उनले । उनले आयात–निर्यात गर्न गौतम एक्स्पर्ट–इन्पोर्ट नामक कम्पनी पनि खोले । त्यसो त मुख्य रुपमा होटल व्यवसायमा ‘लत’ बसाइसकेका गौतमले ०६०÷०६१ तिर काठमाडौंकै बालाजुस्थित माछापोखरीमा ग्राण्ड प्रिन्स नामक तीनतारे होटल सञ्चालनमा ल्याए ।
‘मेरो ‘बेस’ होटल व्यवसाय नैै हो’, उनले सुनाए– ‘अझ परिस्किृत र उच्चस्तरको ‘हस्पिटालिटी’ प्रदान गर्ने उद्देश्यले तीनतारे होटल सञ्चालनको योजना बनाएँ र ठूलै लगानीमा सुरु पनि गरिहालेँ ।’ करिब ८ वर्ष उनले त्यो होटल चलाए । सयौँलाई रोजगारी दिए ।
व्यावासयिक जीवन व्यस्तसँग चलिरहेकै बेला मकवानपुर जिल्ला, हेटौंडा निवासी मनिषासँग लगनगाँठो कसे उनले । ‘एक रथका दुई पाङग्रा’, भनेर्झैं प्रकाशको व्यवासायिक जीवनरुपी गाडीको अर्को पाङ्ग्रा बनेर दुई दशकदेखि साथ दिइरहेकी छिन् श्रीमती मनिषाले ।
ࢮ ࢮ ࢮ ࢮ
व्यवसायकै सिलसिलामा प्रकाश झापा हुँदै भारतका विभिन्न शहरमा आउ–जाउ गर्ने गर्थे । अलि सौखिन स्वभावका प्रकाशले झापामा बास बस्नका लागि स्तरीय होटल नभएको महसूस गरे । आन्तरिक तथा बाह्य पर्यटकले स्तरीय होटलको अभावमा कि त विराटनगर, कि त भारतको सिलिगुडी जानु परिरहेको बाध्यता देखेपछि उनको मनमा झापामा, झापाको पनि विर्तामोडमा ‘तारे’ होटल खोल्ने हुट्हुटी जाग्यो ।
त्यही हुट्हुटीले अन्ततः झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा ‘तारे’ होटल किङ्सबेरीलाई जन्मायो । आन्तरिक तथा बाह्य पयर्टकको चाहना र सुविधालाई मध्यनजर गर्दै वि. सं. २०७० मा विर्तामोड–१ स्थित भगवानचोकमा होटल स्थापनाका लागि जग्गा खरिद गरे र ‘स्टार’ होटल सञ्चालनका लागि आवश्यक मापदण्डसहितका सबै प्रक्रिया पूरा गरेर निर्माण सुरु गरे उनले ।
२०७३÷०७४ मा निर्माण सम्पन्न भएको होटल किङ्सबेरी २०७८ असोज महिनादेखि सञ्चालनमा आयो । होटल अत्यन्त अकरिलो परिस्थितमा सञ्चालनमा आएको हो । विश्वव्यापी महामारी कोरोना भाइरसको आतंकले विश्व हल्लाइरहेको झापामा सर्वाधिक लगानी गरिएको होटलले गति लिन्छ कि लिँदैन ? भन्ने पीर सञ्चालक गौतमलाई थियो । ‘म त आत्तिइसकेको थिएँ’, उनले ती दिन सम्झिए– ‘धन्न कोरोना सेलायो ।’
करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल ‘किङस्बेरी’ झापाको पूर्ण सुविधासम्पन्न होटलमा चिनिन्छ । सम्पन्न घरानाका आन्तरिक र विदेशी पर्यटकका लागि होट किङ्सबेरी उपयुक्त थलो बनेको त छ नै उच्चकोटिको सभा–समारोहका लागि पनि यो हाटल र होटल परिसर उपयुक्त देखिन्छ ।
हालसम्ममा किङस्बेरीमा ३ सय करोड रुपैयाँ लगानी भइसकेको सञ्चालक गौतमको भनाइ छ । होटलमा १४ वटा सुइट रुम, ६५ वटा डिलक्स रुमसहित कुल ८६ वटा रुम छन् । होटलमा दुई वटा रेस्टुरेन्ट छ । ब्याङ्क्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ । अहिले पनि होटलमा भएका कोठाहरु पर्याप्त नभपछि होटलले नयां भवन निमार्ण गरिरहेको छ ।
नयां बन्दै गरेको भवनमा ८६ वटा सुइट र एक्जुकेटिभ रुम थपिंदै छन् । त्यस्तै नयां बन्दै गरेको भवनमा सुविधा समपन्न क्यासीनो समेत निमार्ण हुंदैछ । अबको ६ महिना भित्रमा निमार्ण सम्पन्न गर्ने गरी धमाधम भौतिक संरचना निमार्ण भइरहेको सञ्चालक गौतमकाृे भनाई छ ।
होटलले विगत एक वर्षदेखि क्यासिनो र स्पासहित पाँचतारे होटलका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको बताउँछन् सञ्चालक गौतम ।
होटल र क्यासिनोमा गरी हाल ५ सय बढी कर्मचारी कार्यरत छन् । सञ्चालक गौतमले अधिकांश स्थानीय युवालाई रोजगारीको अवसर दिएका छन् ।
ࢮ ࢮ ࢮ
झापा सुगम, शिक्षित र आर्थिक रुपमा पनि सबल जिल्ला । उद्योग–व्यवसायको प्रचुर संभावना भएको जिल्ला पनि । भारतसँगको सीमा जिल्ला अनि सुदूर पूर्वी पर्यटकीय जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुका लागि ट्रान्जिट पोइन्ट । यिनै विशेषताहरुलाई मध्यनजर गर्दै गौतमले ‘हस्पिटालिटी’का लागि झापालाई रोजे, झापाको शहर विर्तामोडलाई छाने । विर्तामोडबाट भारतको बागडोगरा बिमानस्थल ३५ किलोमिटरको दूरीमा छ ।
विर्तामोडबाट ३० मिनेटको दूरीमा मनमोहक इलामको कन्याम छ, प्रचण्ड गर्मीको मौसममा पनि चिसोपन छ, कुहिरो छ, चियाका बुटाका हरियाली छ ।
खासगरी, पूर्वी सिमानाबाट नेपाल आएका भारतीय तथा बंगलादेशी पाहुनालाई एकैदिनमा भारत नै फर्कनुपर्ने बाध्यताबाट राहत दिन अथवा सुविधाजनक बसाइका लागि विराटनगरतिर धाउनुपर्ने अवस्थाबाट रोक्न पनि विर्तामोडमा ‘स्टार’ होटल सञ्चालनमा ल्याएको गौतमको भनाइ छ ।
यसैबीच, होटल किङ्सबेरीको उन्मुख सफलताले हौसिएका गौतमले अर्को योजना पनि बुनिसकेका छन् । गौतमले पर्यटकीय जिल्ला इलामको फिक्कलमा ठूलै क्षेत्रफलमा रिसोर्ट खोल्ने तरखर गर्दैछन् । उनले ४० वटा रुमसहितको ‘लक्जरी’ रिसोर्टका लागि केही वर्षअघि नै ६१ रोपनी जग्गा खरिद गरिसकेका छन् । ‘यसै वर्षबाट त्यहाँ रिसोर्ट निर्माणको काम सुरु हुन्छ’, उनले योजना बताए– ‘आन्तरिक तथा विदेशी पर्यटकलाई इलााममै स्वागत गर्न हामी आतुर छौं ।’
ࢮ ࢮ ࢮ
दुई प्रतिशत ‘लक्जरी कर’प्रति असन्तुष्टि
सरकारले तारे स्तरका होटलमा बस्ने आगन्तुक र त्यहाँ सेवा लिनेलाई थप दुई प्रतिशत लक्जरी कर लिने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति गौतमको असन्तुष्टि छ । सरकारको यस्तो नीतिले कोभिडपछि बिस्तारै तंग्रिँदै गरेको पर्यटन व्यवसायमा नकारात्मक असर पुगेको गौतमको भनाइ छ । उनी सरकारको नीति अर्थपूर्ण नरहेको बताउँछन् । सरकारको आर्थिक नीतिले होटल व्यवसायीहरूलाई हतोत्साही बनाएको उनले बताए । ‘मुलुकलाई पर्यटक र विदेशी मुद्रा चाहिएको समयमा सरकारले १३ प्रतिशत करमाथि अर्को कर लिनु व्यावहारिक छैन’, उनले भने– ‘यसले पर्यटन र होटल व्यवसायलाई धरासायी बनाउँछ ।’ कर लिँदा व्यवसायीलाई कुनै घाटा नभए पनि सेवाग्राहीलाई आर्थिक भार परिरहेको र नेपालको पर्यटन छवि विश्वबजारमा नकारात्मक परिरहेको उनी बताउँछन् । ‘त्यसैले यो व्यवस्था सरकारले तत्कालै खारेज गर्नुपर्छ ।’
देशमा देखिएको आर्थिक मन्दीका कारण अहिले होटल सञ्चालन खर्च धान्न नसकेको अवस्थामा थप कर तिर्नु परेपछि सेवाग्राहीकोे आकर्षण ठूला होटलप्रति घट्दै गएको उनी बताउँछन् । मुलुकलाई पर्यटक आवश्यक रहेका बेला सरकारले लगाएको लक्जरी करले पर्यटक संख्या नै घट्दै गएको उनको भनाइ छ ।
पर्यटन क्षेत्र पुनरूत्थानका क्रममा रहेका बेला सहुलियत दिनुपर्ने समयमा उल्टै कर थोपर्नु हाँस्यास्पदसमेत भएको बताउँदै उनी भन्छन्— ‘सेवाग्राहीलाई कर बढाएपछि गन्तव्य महँगो भयो भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमै पुगेको छ र नेपाल घुम्न आउने पर्यटकको संख्या पनि घट्दै गएको छ ।’
लगानी अर्बौंको, प्रतिफल अनिश्चित
कोरोना महामारीको असर, बढ्दो ब्याजदर, पर्यटक आगमनमा भएको सङ्कुचन, सरकारको अनैंकौखालका कर तथा सस्तो दरमा कोठा बिक्री गर्नुपर्ने बाध्यताका कारण तारे होटलहरूमा भइरहेको अर्बौं लगानी जोखिममा रहेकोे, लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको, सरकारले पनि व्यवसायीलाई कुनै सुविधा तथा सुरक्षा प्रदान नगरेको उनको भनाइ छ ।
विदेशमा उद्योगी तथा व्यवसायीलाई सरकारले सुरक्षासहित अन्य सुविधा दिने गरेको स्मरण गर्दै गौतम भएको जायजेथा चर्को व्याजदरमा बैंकका राखेर जोखिम मोलेर व्यापार गर्नेमाथि सरकारले राम्रो नजरले नहेरेको बताउँछन् ।
किङ्सबेरीले बदल्यो विर्तामोडको परिचय
विर्तामोडमा सञ्चालनमा आएको पाँचतारे होटल किङ्सबेरीका कारण विर्तामोडको परिचय पनि बदलिएको छ । अहिले विर्तामोडलाई ‘तारे होटलको सहर’ पनि भन्न थालिएको छ । किङ्सबेरी सञ्चालनमा आएपछि भारतका विभिन्न सहर तथा भूटान, बंगलादेशलगायतबाट नेपाल भित्रिने पर्यटक पूवी पहाडी जिल्लाका पर्यटकीय स्थलको भ्रमण गरेर फर्किएपछि विर्तामोडमा बस्न थालेका छन् । होटल स्थापनासँगै विर्तामोडको व्यापार–व्यवसाय फस्टाएको छ । पाँचतारे होटल अभावमा अन्यन्त्र जानु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएको छ । सयौं स्थानीयले रोजगारी पाएका छन् । होटलका कारण स्थानीय उद्योगसहित बाह्य उद्योगमा उत्पादित सामान खपत भइरहेको छ । होटल तथा क्यासिनोका कारण वार्षिक बाहिरिने अर्बौं रुपैयाँ यहीँ रोकिएको छ । यसमा प्रकाश गौतमको योगदान उल्लेखनीय छ ।
क्यासिनोका ग्राहकलाई अनावश्यक दुःख
सीमाक्षेत्रको सहरमा खुलेका क्यासिनोमा आउने विदेशी नागरिकबाट राज्यले आर्थिक लाभ लिनसक्ने र यसबाट रोजगार लगायत अन्य प्रत्यक्ष र अप्रत्यक्ष फाइदा पुग्ने विश्वाससहित सरकारले क्यासिनो सञ्चालन गर्न दिँदै आएको छ ।
तर, नेपालका सीमा नाकामा पर्ने जिल्लामा राज्यलाई लाखौँ रुपैयाँ कर तिरेर सञ्चालनमा आइरहेका क्यासिनो (गेमिङ क्लब) प्रति नकारात्मक टिका–टिप्पणी हुने गरेको छ ।
क्यासिनोमा आउने अधिकांश भारतीय नागरिकलाई सीमा नाकादेखि क्यासिनो प्रवेश गर्ने बेलासम्म दुःख दिने गरेको भन्दै सञ्चालक गौतमले चिन्तासहित आक्रोश पनि व्यक्त गरेका छन् ।
सुरक्षा निकायले भारतीय नागरिकलाई अनावश्यक दुःख दिने गरेको भन्दै जिल्ला प्रशासनले स्पष्ट निर्देशन दिन नसकेको उनको गुनासो छ । उनले भने– ‘सीमा क्षेत्रमा विभिन्न स्थानमा किन चेकिङ गरेर दुःख दिने भारतीय पर्यटकलाई ? सम्मानसहित नेपाल आउने वातावरण बनाउन आवश्यक छ ।’
क्यासिनोले विदेशी मुद्रा भित्र्याउन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुँदा राज्यलाई कर तिरेर खुलेका क्यासिनो तोकिएका मापदण्ड पूरा गरेर निर्वाध सञ्चालन हुने वातावरण राज्यले नै बनाइदिनुपर्ने गौतमको भनाइ छ ।
‘नेपालीलाई प्रवेश गर्न नदिएर तोकिएका व्यक्ति (विदेशी नागरिक)–लाई सीमा नाकाबाट बिनासास्ती क्यासिनो आउन दिइनुपर्दछ’, गौतम भन्छन्– ‘ क्यासिनोमा आउने भारतीयले ५ सय रुपैयाँको नोट ल्याउँदा बरामद गर्ने प्रक्रिया गलत भएको हुँदा यात डलर ल्याउ भन्नुपर्यो होइन भने नोट ल्याउन दिनुपर्छ, बिनाकारण दुःख दिन बन्द गरेर क्यासिनोलाई पर्यटकीय हब बनाउनतर्फ लाग्नुपर्छ । क्यासिनोमा आउनेलाई अपराधीजस्तो व्यवहार गरेको देख्दा मलाई त अचम्म लाग्छ ।’
समाजसेवामा गौतम
समाजमा उद्योग–व्यवसायलाई मात्रै सबैथोक ठानेर कमाउधन्दामा मात्र लागेका मानिसको कमी छैन । तर, प्रकाश गौतम त्यस्तो मनोवृत्तिबाट टाढा छन् । उनी व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै रमाउने स्वभावका व्यवसायी हुन् । उनले सामाजिक क्षेत्रमा पुरयाएको योगदानले यो कुरालाई पुष्टि पनि गरेको छ ।
अप्ठ्यारोमा परेकाहरुलाई सहारा प्रदान गर्न भनेपछि उनी सधैँ अगाडि हुन्छन् । गरिब, असहाय, विपन्न, अफ्ठ्यारा परेकालाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिन्छन् उनी ।
आर्थिक अभावका कारण उपचार पाउनबाट वञ्चित, शिक्षा हासिल गर्न नसकेका, खान नपाइरहेका सयौंलाई वर्षौंदेखि सहयोग गर्दै आएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि होस् या खानेपानी अभाव झेलेका हुन् — उनी सहयोग गर्न तयार भइहाल्छन् । उनले देशका बिभिन्न स्थानमा हुने खेलकुद प्रतियोगिता, उद्योग–व्यापार महोत्सवजस्ता आयोजनाहरुमा पनि मन खोलेर सहयोग गर्छन् । ‘यही समाजमा बसेर मैले आफ्नो जीवन चलाइरहेको छु भने यो समाजका लागि मैले केही योगदान गर्नुपर्ने मेरो दायित्व र कर्तव्य पनि हो’, उनी भन्छन्– ‘दीन–दुःखीको सेवा गर्न पाउँदा मन नै प्रफुल्लित हुन्छ ।’
ࢮ ࢮ ࢮ ࢮ
सबैसँग मिलनसार, सहयोगी, बौद्धिक एवम् समाजसेवी व्यक्तित्व प्रकाश गौतमले काठमाडौँ पछि मोफसलमा ‘हस्पिटालिटी’को क्षेत्रमा गरेको लगानी र व्यवसायकर्म प्रशंसनीय मात्र छैन, अनुकरणीय पनि छ ।