झापा : झापामा ट्राफिक प्रहरी राजस्व संकलनमा बढी केन्द्रित हुन थालेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सवारी दुर्घटना न्यूनीकरणभन्दा राजस्व संकलनमा बढी केन्द्रित हुंदा दुर्घटना समेत बढेको छ ।  

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नियम उल्लंघनका नाममा प्रहरी चिट काट्न व्यस्त देखिन्छ ।  

बढी भन्दा बढी राजस्व संकलन गर्दा प्रहरी सक्रियता देखिने भन्ने प्रहरीको मानसिकताका कारण झापा जिल्लामा दैनिक जसो दुर्घटना बढ्नुका साथै नागरिकले अनावश्यक दुःख र झन्झट व्यहोर्नुपरेको सर्वसाधारणको गुनासो छ । 

ट्राफिक प्रहरीले सक्रियता देखाउने नाममा प्रत्येक बिटलाई न्यूनतम रकम राजस्व संकलन गर्नैपर्ने बाध्यकारी नियम लगाएको बताइएको छ । तर पोष्ट इन्चार्जहरु राजश्व संकलनको लक्ष्य कार्यालयले नतोकेको बताउंछन् । यद्यपी अघिल्लो महिना भन्दा राजश्व संकलन घटेको खड्ण्मा कार्यालयले समिक्षा बैठक डाक्ने गरेको कांकरभिट्टा ट्राफिक पोष्टका इन्चार्ज सई मनमोहन पौडेल बताउंछन् । उनी सरदरमा आफ्नो पोष्टले मासिक ३ लाख हाराहारी राजश्व संकलन गर्ने बताउंछन् । 

vlcsnap-2024-07-22-07h49m54s398

अघिल्लो महिनाको कारवाही र राजश्व संकलनको डाटा हेरेर पोष्ट इन्चार्जलाई अघोषित राजश्वको लक्ष्य दिने गरेको बताइन्छ । ट्राफिक नियम उंलघन गर्ने चालकलाई सचेतना प्रदान गर्दै दुर्घटना न्यूनिकरणमा ध्यान दिनु पर्ने भए ता पनि ट्राफिक प्रहरीको ध्यान राजश्व संकलनमा मात्र गएको सरोकारवाला निकायको पनि बुझाइ छ । 

राजश्व संकलनमा मात्र फोकस गर्ने झापा ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेको नियमका कारण सर्वसाधारणले  मात्र होइन मातहतका सबै प्रहरी कर्मचारीलाई पनि हैरानी भएको बताइन्छ । 

झापाको नेतृत्व सम्हाल्न न्यौपाने आएसँगै उनको ध्यान दुर्घटना न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी केन्द्रित देखिएको हो ।

हाल काँकरभिट्टादेखि तारावारी ढाँटसम्म खटिएका ट्राफिक प्रहरीलाई चेकिङका नाममा कार्यालयले दिइएको लक्ष्यअनुसारको रकम उठाउन निक्कै सकस पर्ने गरेको  एक इन्चार्ज बताउंछन् । 

एउटा पोष्टमा चिट काटेर हिँडेको चालकले सडकमा चेकिङ बसेका प्रहरी समक्ष  कति ठाउँमा त्यही चिट देखाउने ?  हामीले चेकिङका नाममा उसलाई कतिपटक रोकेर दुःख दिने ?’ तर के गर्नु हाकिमको आदेश मान्नै पर्यो एक इन्चार्जको भनाई छ । 

त्यस्तै ट्राफिक पोष्ट सुरुङ्गाले पुष अघि सम्म मासिक ३ देखि ४ लाख रुपैंया राजश्व संकलन गर्ने गरेको थियो । तर अहिले १० देखि १४ लाख सम्म मासिक उठ्ने गरेको पोष्ट इन्चार्ज असई टंक दाहाल बताउंछन् ।

लक्ष्मीपुर पोष्ट नभएकाले रकम बृद्धि भएको बताउंछन् । उनी पनि कार्यालयले मासिक लक्ष्य नदिए पनि राजश्व दर अघिल्लो महिना भन्दा कम भए समिक्षा हुने बताउंछन् । 

गत आर्थिक वर्षमा ७० जना पुरुष, १० जना महिला, ७ जना  बालबालिका  गरी ८७ जनाले ज्यान गुमाइसकेका छन् ।  दुर्घटनामा १ सय ६४ जना गम्भीर घाइते र ८ सय ३ जना सामान्य घाइते भएका छन् ।  दुर्घटनामा संलग्न सवारी मात्रै ५ सय ९३  वटा रहेका छन् ।

त्यस्तै ट्राफिक प्रहरीले गत आर्थिक बर्षमा मात्र ३ करोड ८६ लाख ८२ हजार ६ सय ४१ रुपैंया राजश्व संकलन गरेको छ । ५७ हजार ४ सय ५६ सवारी कारवाहीमा पर्दा सो राजश्व संकलन भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । 

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये मोटरसाइकल चालक धेरै छन् । 

 यसको प्रमुख कारण अदक्ष चालकलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयको सेटिङमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्नु , मापसे, तिब्र गति लगायत छन् ।  

दुर्घटना न्यूनीकरणका लागि झापामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । ट्राफिक प्रहरीले सहरकेन्द्रित कार्यक्रम गर्दा ग्रामीण क्षेत्रका नागरिकले त्यसको सदुपयोग गर्न नपाएको बताइएको छ । 

ट्राफिक व्यवस्थापनमा चासो नदिँदा बिर्तामोड सहितका मुख्य बजार क्षेत्रका सडकसमेत अस्तव्यस्त हुने गरेको छ ।  सवारीसाधनको उचित पार्किङको व्यवस्थापनमा स्थानीय तहसंग समन्वय र छलफल गर्दै अघि बढ्नु पर्नेमा ट्राफिक प्रहरी चिट काट्नमा नै व्यस्त हुँदा सवारी आवागमन अस्तव्यस्त हुने गरेको हो । प्रहरीले निगरानी तथा कडाई नगर्दा जतासुकै  पार्किङ गरिएका सवारीका कारण आवगमन अस्तव्यस्त संगै दुर्घटनाको जाखिम बढेको छ ।  

बिर्तामोड, सुरुङ्गा, भद्रपुर, काँकरभिट्टा , धुलाबारी दमक लगायतका सहरी क्षेत्रमा उचित पार्किङको व्यवस्था नहुँदा सवारीसाधन सडक किनारमा नै पार्किङ गर्ने गरिएको छ ।  यसले पैदलयात्रीलाई हिंड्डुलमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।

सवारी चालकलाई ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गरे पनि उक्त अभियान अभियानमै मात्र सिमित बनेको बताइएको छ ।  

साथै, ट्राफिक प्रहरीले काराबाहीमा परेका सवारीका चालक लाई चिटको भरमा छाड्ने गरेकाले पनि लापरबाही झनै बढेर गएको छ ।