झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृति रहित जिल्ला निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्नने उद्धघोष गरेका छन् । 

उनले खुला सीमाका कारण हुन सक्ने चोरी, तस्करी नियन्त्रण, सीमा अपराध, नदी दोहन, कालावजारी, ठगी , गैरकानुनी क्रियाकलाप लगायत अबैध कार्य रोक्न कुनै पनि कसुर बांकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । धनकुटाबाट केहि दिन अघि मात्र झापा प्रशासनको नेतृत्व सम्हाल्न आइपुगेका प्रजिअ गेलालले आज आफ्नै कार्यकक्षमा झापाका पत्रकार समक्ष सो प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले  शान्ति सुव्यवस्थाका लागि झापा प्रशासनले इमानदार रहेर  काम गर्ने वचन समेत दिएका छन् ।

उनले आसन्न निर्वाचन भयरहित सम्पन्न गर्न पनि अपराध नियन्त्रण अनिवार्य रहेकाले विकृतिरहित झापा निर्माणका लागि काम गर्ने बताएका हुन् ।  प्रजिअ गेलालले सरकारी कार्यालय आसपास हुने गरेको बिचौलिया प्रबृत्ति पूर्ण रोक्ने जनाउँदै सडक अतिक्रमण गरेर कार्यालय आसपास भइरहेका व्यापार अबिलम्ब बन्द गराउने जानकारी दिए ।

 सरकारी सम्यन्त्रलाई सूचनामैत्री बनाउन लागी पर्छु, उनले भने, सरकारी कार्यालयहरूमा हुने गरेका राम्रा नराम्रा पक्षलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्न जिल्लाका सञ्चारकर्मीलाई अनुरोध गर्दछु । 

साथै उनले लागुऔषध कारोवार जस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिबद्ध भएर काम गर्ने बताए । कार्यक्रममा सञ्चारकर्मीले आ आफ्नो धारणा सहित सल्लाह सुझाब दिएका थिए ।