झापा
उपेक्षित उष्णप्रदेशीय रोग हात्तीपाइलेका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा सराकारवालाहरुले जोड दिएका छन् ।
प्रादेशिक अस्पताल र सहारा नेपालको आयोजनामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नाराका साथ बिहीबार यहाँ भएको कुष्ठ तथा हात्तीपाइले रोग प्रभावितहरुको लागि स्वास्थ्य बिमामा सहज पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् ।
अन्तरक्रियामा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले जिल्लाका १५ वटै पालिकाले हात्तीपाइले रोगीको निःशुल्क स्वास्थ्य बिमा गर्नुपर्नेमा जोड दिए ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरलले नगर क्षेत्रमा रहेका हात्तीपाइले रोगीलाई स्वास्थ्य बिमामा जोड्ने अभियान नगरपालिकाले शुरु गरेको बताए ।
जिल्लामा हात्तीपाइले, कुष्ठरोग, डेंगु लगायतका उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण दर उच्च रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।
जिल्लामा १३ वर्षसम्म हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान सञ्चालन गरे पनि नयाँ संक्रमित भेटिने गरेको उनको भनाई छ ।
जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगहरु ठूलो समस्याका रुपमा देखिएकाले समाधान गर्न जरुरी रहेको उनले चर्चा गरे। हात्तीपाइले रोगीलाई स्वास्थ्य बिमामा जोड्नु आवश्यक रहेको उनले बताए ।
झापाको प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आए पनि लक्षित समुदायलाई यसका बारेमा जानकारी नहुँदा रोग बोकेर घरमै थलिएर बसिरहेको उनको भनाई छ ।
प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट रामबाबु खड्काले स्थानीय सरकारले हात्तीपाइले रोगीको पहिचान गरेर स्वास्थ्य बिमा गरिदिनुपर्नेमा जोड दिए । प्रादेशिक अस्पतालले समेत आर्थिक अवस्था कमजोर भएका हात्तीपाइले रोगीको उपचारका सक्दो सहयोग गरिरहेको उनको भनाई छ ।
प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर सुजन काफ्लेले आर्थिक वर्ष २०७९÷०८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरंग (ओपीडी) सेवा शुरु भएको बताए ।
हात्तीपाइले रोगीको उपचारका लागि सरकारले वार्षिक रू दुई लाख दिने गरेको बताउँदै उनले उक्त रकमले उनीहरुको उपचार प्रभावकारी रुपमा गर्न नसकिएको बताए ।
हात्तीपाइले रोगीले वर्षमा कम्तीमा दुई–तीन पटक अस्पताल जानुपर्ने अवस्था आउने सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले बताए । उनले विपन्न वर्गका मानिसमा यो रोग उच्च देखिएकाले उनीहरुको निःशुल्क स्वास्थ्य बिमा गर्न जरुरी रहेको औंल्याए ।