झापाको अर्जुनधारा नगरपालिका स्थित पूर्वको पशुपतिनाथका नामले परिचित पवित्र धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाममा ४३ औं वार्षिक अनुष्ठान तथा बालाचतुर्दशी मेलाको अवसरमा आजबाट वायुपुराण सप्ताह ज्ञानमहायज्ञ आजबाट सुरु भएको छ ।
धामको आयोजनामा आज कार्तिक २७ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलित रकमबाट मुल मन्दिरको अर्घलाई सम्पुर्ण चाँदीले सौन्दर्यकरण गर्ने योजनाका साथ धार्मिक कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ । महायज्ञको शुभारम्भको अवसरमा कलश यात्रा निकालिएको थियो ।
कलश यात्राले अर्जुनधारा जलेश्वर धामबाट शुरु भएर सनिचरे बजार परिक्रमा गरेको थियो । यात्रामा धार्मिक गुरुहरू, समाजसेवी तथा श्रद्धालुहरू सहित करिब १५०० सय बढी झाँकीसहित सहभागी भएका थिए । कलश यात्राको अगुवाइ धामका अध्यक्ष नविन गट्टानीले गरेका थिए । प्रमुख आतिथ्यका रूपमा धार्मिक गुरु श्री १००८ केशवानन्द स्वामीजी महाराज के.एन. स्वामी उपस्थित रहेका छन् ।

नेपाल सरकारबाट धार्मिक पर्यटकीय गन्तवयको रुपमा सुचिकृत अर्जुनधारा जलेश्वरधाममा सदा झैँ यस बर्ष पनि धामका व्यासाचार्य अन्तराष्ट्रिय कथा बाचक पंडित कुवेर सुवेदी प्रमुख कथा बाचक, पंडित हेमन्त भण्डारी महायज्ञमा कथा उपवाचकको रुपमा रहेका छन् । बाला चतुर्दशीको दिन सत्विज रोपण पशचात समापन हुने वायु पुराण सप्ताहमा सहभागि भइदिन आयोजकाले अनुरोध गरेको छ ।











































