काठमाण्डौ – नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विराटनगर किङ्ग्स लगातार दोश्रो खेलमा विजयी भएको छ । आज भएको खेलमा विराटनगरले काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको छ ।
काठमाण्डुले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । विराटनगरका जर्ज मुन्से ३६, मार्टिन गुप्टिलले २५ र नरेन भट्टले २४ रन बनाए । काठमाण्डुका शाहब आलमले २ तथा करन केसी, गेर्हार्ड इरास्मस र सन्तोष यादवले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको काठमाण्डुले ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । काठमाण्डुका आदिल आलमले अविजित ३८ र वेन चाल्र्सवर्थले ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङले २, सन्दीप लामिछाने, शुभम रञ्जाने र सूर्य तामाङले समान १ विकेट लिए ।
उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।








































