विराटनगर, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या प्रकरणमा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। अन्धविश्वास र पुरानो रिसइबीका कारण ‘सुपारी’ दिएर हत्या गराइएको रहस्य प्रहरीले सार्वजनिक गरेको हो ।

रामधुनी–२ कर्मनिया टोलका ४५ वर्षीय चौधरीको हत्या आरोपमा पक्राउ पर्नेमा मुख्य योजनाकार दाजुभाइ, सुटर र अन्य सहयोगीहरू रहेका छन् । प्रहरी अनुसन्धानले मृतक चौधरीले लामो समयदेखि ‘तन्त्रमन्त्र’ र ‘टुनामुना’ गरेर आफ्नो परिवारलाई दुःख दिएको अन्धविश्वास योजनाकारहरूले पालेका थिए । यही रिसइबी साध्न उनीहरूले पेसेवर अपराधी प्रयोग गरी हत्या गराएको प्रहरी प्रवक्ता एसपी चन्द्र बहादुर खड्काले जानकारी दिए ।

हत्या योजना

  • योजनाकार : राजकिशोर साह (राजेश) र नन्दकिशोर साह, रामधुनी–१ झुम्का
  • सुपारी रकम : ६ लाख ५० हजार रुपैयाँ
  • सुटर : मोहम्मद इब्रान मिया, भोक्राहा नरसिंह–५
  • पेस्की : ३ लाख रुपैयाँ, बाँकी काम फत्ते भएपछि दिने सहमति

गत असोज २५ गते साँझ करिब ५:३० बजे रामधुनी–२ शिवनगर–झुम्का जाने नहरको भित्री सडकमा चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको थियो।

घटना विवरण

चौधरी घरबाट ‘एकैछिनमा आइहाल्छु’ भन्दै सिटी सफारी लिएर निस्किएका थिए। करिब आधा घण्टापछि घरदेखि दुई किलोमिटर टाढा नहरको सुनसान बाटोमा मोटरसाइकलमा आएका तीन जनाले उनलाई रोकेर गोली हानेका थिए। प्रत्यक्षदर्शी नरेश चौधरीले विवाद देखेपछि सोध्दा उनलाई समेत धम्की दिइएको थियो। केहीबेरमै चौधरी रगताम्य भई नहर किनारमा लडेका थिए।

पक्राउ परेका

  • राजकिशोर साह (रामधुनी–१, झुम्का)
  • नन्दकिशोर साह (रामधुनी–१, झुम्का)
  • मोहम्मद इब्रान मिया (भोक्राहा नरसिंह–५)
  • अङ्कित साह (सप्तरी, राजविराज)
  • प्रिन्स कुमार दास (सप्तरी)
  • गियास मन्सुरी (सुनसरी, देवानगञ्ज)
  • मिथिलेश यादव

पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।