सन्तोष न्यौपाने÷झापा 

कांरभिट्टा स्थित मेची भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व संकलन गर्न असफल भएको छ । कोरोना महामारीपछि मेची भन्सार कार्यालयमार्फत हुने राजस्व सङ्कलनमा लगातार ह्रास आइरहेको हो । 

भन्सारले चालु आर्थिक बर्षको साउनदेखि कात्तिक महिना सम्म ४ अर्ब ४४ करोड २९ लाख रुपैंया राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयलाई बिभागले १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैंया तोकेको भन्सार प्रमुख  रामप्रसाद रेग्मी बताउंछन् ।  

भन्सारले गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत मात्र राजस्व असुली गरेको थियो । 

भन्सारका अनुसार  उक्त आवमा १४ अर्ब ५ करोड २० लाख ९० हजार राजस्व असुली भएको थियो ।  भन्सारले सो अवधिमा  २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 


पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प, पछिल्लो समय देखिएको आर्थिक मन्दी लगायतका कारणले  राजस्व सङ्कलन प्रभावित भएको भन्सार प्रमुख रेग्मीको  भनाई छ । 

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७÷७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको थियो । 

मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो ।  तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ । तर भन्सारले लक्ष्य भेट्न नसक्नु  खुला सीमा कारण हुने चोरी पैठारी पनि महत्वपूर्ण कारण भएको सरोकारवालाको बुझाई छ ।