कनकाई । झापाको कनकाई नगरपालिका–५, तल्लो चप्रामारीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ः१५ बजे शंकास्पद रूपमा साइकलमा सवार युवकलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो।

प्रहरी वरिष्ठ नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले कनकाई–४ मनकामना टोल निवासी ३२ वर्षीय रोशन चौधरीलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा चौधरीले प्रयोग गरेको लेडिज साइकलको सिटमुनिको पाइपभित्र प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा १४ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषध र साइकलसहित पक्राउ परेका चौधरीलाई प्रारम्भिक अनुसन्धानपछि थप आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।