झापा । रसुवा जिल्ला तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वीरता जेसीजले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको हो।
रकम जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको उपस्थितिमा आज हस्तान्तरण गरिएको थियो।
राहत संकलन अभियान वीरता जेसीजका जनसम्पर्क अधिकारी तथा अभियान संयोजक जेसी अजय चौधरीको संयोजकत्वमा सञ्चालन गरिएको थियो। अभियानमा वीरता जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सहयोग रहेको जनाइएको छ।
राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, जेसीआई सिनेटर घनश्याम चौधरी, औषधि व्यवसायी संघ झापाका अध्यक्ष तथा जेसीआई सिनेटर जीवन खड्का, वीरता जेसीजका पूर्वअध्यक्ष जेसी विकास बस्नेतलगायतको उपस्थिति थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरी सहयोग गरेकोमा वीरता जेसीज तथा अभियानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे।
उनले सामाजिक संस्थाहरूको यस्तो मानवीय पहलले विपद्का बेला पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सकारात्मक सन्देशसमेत प्रवाह गर्ने बताए।
वीरता जेसीजका अध्यक्ष लोक चन्द्र श्रेष्ठले प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिनु सामाजिक संस्थाहरूको महत्वपूर्ण दायित्व भएको बताए।
उनले अभियानमा सहयोग गर्ने पूर्वअध्यक्ष, पदाधिकारी, सदस्य, दाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनाका साथ सञ्चालन गरिएको अभियानबाट संकलित रकम बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास वीरता जेसीजले व्यक्त गरेको छ।
संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









































