बिर्तामोड । मैनाली समाज नेपाल झापा जिल्ला कार्यसमितिको आयोजनामा आज बिर्तामोडमा भएको बृहत रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको छ ।
बढ्दो रगतको अभावमा ध्यानमा राखेर समाजले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका सचिव खगेन्द्र प्रसाद मैनालीले जानकारी दिए । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाले गरेको थियो भने बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्य र बिर्तामोड चिल्ड्रेन हस्पिटलको सहयोग रहेको थियो ।

कार्यक्रममा समाजका सदस्य, विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि समाजका स्वास्थ्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक डा . लक्ष्मीप्रसाद मैनालीले गरेका थिए । उनले रक्तदान मानवीय सेवासँग जोडिएको महत्वपूर्ण कार्य भएकाले नियमित रक्तदानको संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उनले रगत अभावका कारण कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने हेतुले कार्यक्रम गरिएको बताए । कार्यक्रमको सञ्चालन मैनाली समाज नेपाल झापाका जिल्ला सचिव खगेन्द्रप्रसाद मैनालीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । रक्तदानमार्फत संकलित रगतले आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा प्रमुख अतिथि ढकालले जोड दिएका थिए ।कार्यक्रमको अध्यक्षता मैनाली समाज नेपाल झापाकी अध्यक्ष रेनुका मैनालीले गरेकी थिइन् ।

सामाजिक सेवा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने मैनाली समाज झापाले जनाएको छ ।









































