सहकारी व्यवस्थापक क्लब झापाले नयाँ नेतृत्व पाएको छ । सहकारी अभियानलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले गठन भएको सहकारी व्यवस्थापक क्लबले नयाँ नेतृत्व पाएको हो ।
बिर्तामोडमा आज आइतबार सम्पन्न क्लबको दोस्रो अधिवेशनले तीलकबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा मानस सिटौला, महासचिवमा पर्वतराज चिमरिया र कोषाध्यक्षष्मा गंगा सापकोटा निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्वसँगै झापाको सहकारी क्षेत्रलाई थप मजबुत बनाउने, व्यवस्थापकबीच अनुभव आदानप्रदान गर्ने तथा सहकारी संस्थाको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी क्लबको सदस्यहरुमा लीलाकुमारी भुजेल, राजकुमार बराल, सरोज मेहरा, किशोर गुरागाँई, विवेक राई, भूमिनाथ बराल निर्वाचित भएका छन् । कार्य समितिको कार्यकाल २ बर्षको हुने जनाइएको छ । समितिमा तीन जना सदस्य मनोनित गरिने समेत बताइएको छ ।
सहकारी संस्थामाथि समुदायको विश्वास कमजोर बन्दै गएको अवस्थामा व्यवस्थापकको भूमिका अझ जिम्मेवार र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै क्लबले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जनाएको छ ।
सहकारी व्यवसाय र सहकारी अभियानलाई मजबुत र प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको सहकारी क्लबको चौथो बार्षिक साधारण सभा, दोस्रो निर्वाचन तथा अभिमूखिकरण एकै साथ सम्पन्न गरिएको हो ।
अभिमूखिकरण कार्यक्रमको सहजीकरण स्वर्ण लक्ष्मी साकोस दमकका व्यवस्थापक राजकुमार बरालले गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष खोमप्रसाद बगालेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै क्लबको लक्ष्य, उद्देश्य, झापाको सहकारी अभियानको वर्तमान अवस्था, हालसम्म गरिएका गतिविधि तथा आगामी वर्षका प्रस्तावित योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा क्लबका सल्लाहकार लक्ष्मीप्रसाद उप्रेतीले सहकारी संस्थाप्रति सदस्य तथा समुदायको विश्वास कायम राख्न व्यवस्थापकको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष युवराज गिरी तथा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष एवं निर्वाचन समितिका संयोजक नारायणप्रसाद भट्टराईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
क्लबकी कोषाध्यक्ष तुलसा कुँवरका अनुसार व्यवस्थापकबीच सिकाइ, अनुभव र अभ्यास आदानप्रदान गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
क्लबका सदस्य तीलकबहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सञ्चालन सदस्य पर्वत चिमरियाले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख प्रेम श्रेष्ठ, दमक शाखा प्रमुख अर्जुन कार्की, झापा जिल्ला सहकारी संघकी व्यवस्थापक सन्जु देवान, जिल्ला बचत तथा ऋण सहकारी संघकी व्यवस्थापक कोपिला बजगाईँ, क्लबका महासचिव सन्तोषकुमार श्रेष्ठलगायत सहकारीकर्मी तथा क्लबका सदस्यहरूको उपस्थिति थियो ।









































