गोरखा स् मनास्लु बेसक्याम्पको टेण्टभित्र आरोहीका एक सहयोगी मृत फेला परेका छन्। संखुवासभाको मकालु गाउँपालिका २ निवासी २० वर्षीय टासी शेर्पा टेण्टभित्रै मृत भेटिएका जिल्ला प्रहरी कार्यालयले गोरखाले जनाएको छ।
पयोनियर एड्भेञ्चर कम्पनीबाट आरोहीका किचन सहयोगीका रुपमा गएका शेर्पाको राती मृत्यु भएको र शव बेसक्याम्पमै रहेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसक्दा शव ल्याउन नसकिएको डिएसपी श्रेष्ठको भनाइ छ।
टेण्टभित्र खाना पकाउने ग्यास खुल्लै रहेकाले सोही कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। घटनाको थप कारणबारे अध्ययन भइरहेको उनले जानकारी दिए।








































