बिर्तामोड ।

कतिपयलाई रगत दिँदा कमजोरी हुन्छ कि भन्ने डर हुन्छ ।  कतिपयलाई रक्तदानका लागि एकपटक पनि तयार हुन गाह्रो हुन्छ।  तर झापाका दुई जना युवाले भने रक्तदानलाई डर होइन, मानवीय सेवाको निरन्तर अभियानका रूपमा आत्मसात् गरिरहेका छन् । झापा हल्दिबारी निवासी पत्रकार समेत रहेका नेत्रविक्रम बिमलीले अहिले सम्म १२२ औं पटक र बिर्तामोडका ओम लुंइटेलले १०६ औं पटक रक्तदान गरेका छन्। 

सयपटकभन्दा बढी रक्तदान गरिसकेका यी दुई युवाको यात्रा केवल संख्याको कथा होइन, लामो समयदेखि निरन्तर कायम राखेको सेवाभाव र सामाजिक जिम्मेवारी सबैकालागि उदाहरण बनिरहेको छ । 

 आफ्नो रगतले अपरिचित व्यक्तिको जीवनमा आशा थप्न सकिन्छ भन्ने विश्वासका साथ रक्तदानलाई निरन्तरता दिँदै आएको उनीहरुको भनाई छ । अस्पतालमा रगत आवश्यक पर्ने बिरामीको अवस्था र रगत नपाउँदा बिरामीले अकालमा ज्यानै गुमाउनु पर्ने र परिवारले भोग्नुपर्ने तनावलाई सम्झँदा आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावना जाग्ने उनीहरूको भनाइ छ।

१२२ पटक रक्तदान गरेका पत्रकार नेत्रविक्रम

हल्दिबारी निवासी नेत्रविक्रम बिमलीका लागि रक्तदान अब नयाँ विषय होइन। १२२ औं पटकसम्म रक्तदान गरिसक्दा पनि उनको सेवाभावमा कमी आएको छैन। उनी पेशाले पत्रकार हुन् । उनी स्थानीय हल्दिबारी डटकमका सम्पादक तथा ग्रामीण प्रेस क्लबका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समुह झापाको अध्यक्ष समेत हुन । उनी हरेक क्षेत्रमा हुने रक्तदान कार्यक्रममा हर सम्भव पुगिरहेका हुन्छन् । 

रगत अभाव कारण समस्यामा परेका मानवको  जीवन बचाउन आफ्नो सानो योगदान पुग्न सक्ने सोचले आफूलाई रक्तदान गर्न प्रेरित गर्ने बिमली बताउँछन्। उनका लागि रक्तदान कुनै व्यक्तिगत उपलब्धि वा रेकर्ड बनाउने विषयभन्दा पनि मात्र सामाजिक दायित्व र समाजिक सेवा महत्वपूर्ण हो।

हाल सम्म १२२ पटक रक्तदान गरिसकेका बिमलीले रक्तदानप्रति समाजमा रहेका भ्रम हटाउन र युवालाई नियमित रक्तदानका लागि प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। उनी अन्यकालागि प्रेरणाको स्रोत समेत हुन् । 

ओमको १०६ औं रक्तदान

बिर्तामोडका ओम लुंइटेलले पनि १०६ औं पटक रक्तदान गरेका छन्। लामो समयदेखि नियमित रक्तदान गर्दै आएका लुंइटेलका लागि पनि रक्तदान सामाजिक सेवाको महत्वपूर्ण माध्यम बनेको छ।

‘आफूले दिएको रगत कसैको उपचारमा काम लाग्छ र कसैको जीवन बच्न सक्छ’ भन्ने विश्वास नै रक्तदानको मुख्य प्रेरणा रहेको उनी बताउँछन्।

रक्तदानलाई नियमित बनाएका लुंइटेल स्वस्थ व्यक्तिले रक्तदान गर्न डराउन नहुने बताउँछन्। बरु पहिलोपटक रक्तदान गर्न चाहनेलाई प्रोत्साहित गर्ने र रक्तदानसम्बन्धी सही जानकारी फैलाउने काम आवश्यक रहेको उनको धारणा छ।

नेत्रविक्रम र ओमको कथा एउटा स्पष्ट सन्देश हो—रक्तदानका लागि ठूलो धनसम्पत्ति चाहिँदैन, चाहिन्छ केवल स्वस्थ शरीर र अरूको जीवन बचाउने मन।