कनकाई । 

कनकाई नगरपालिकाका जीर्ण सडक मर्मत गर्न निर्माण व्यवसायी तथा समाजसेवी शेरबहादुर थापा आफैं सक्रिय भएका छन्। उनले पछिल्लो एक महिनादेखि नगरका नौवटै वडाका बिग्रिएका पिच सडकमा आफ्नै खर्चमा मर्मतको काम गर्दै आएका छन्।

सडकमा परेका साना खाल्डाखुल्डी समयमै नपुरिँदा थप क्षति हुने र पछि ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आउने भएकाले सामाजिक दायित्वका रूपमा अभियान थालेको थापाको भनाई छ । 

निर्माण व्यवसायी भएकाले आवश्यक निर्माण सामग्री र उपकरण आफूसँगै रहेको भन्दै उनले अहिलेसम्मको खर्च तथा मर्मत गरिएको सडकको विवरणसमेत छुट्टै नराखेको बताए। उनका अनुसार अभियानमा हालसम्म कतैबाट आर्थिक सहयोग प्राप्त भएको छैन।

थापाको पहलले नागरिकस्तरबाट सार्वजनिक पूर्वाधार संरक्षणको उदाहरण प्रस्तुत गरे पनि सडकको दीर्घकालीन संरक्षणका लागि स्थानीय सरकारले नियमित मर्मतसम्भारको व्यवस्था गर्नुपर्ने देखिन्छ। थापाले कोभिडको समयमा पनि आफ्नै खर्चमा लाखौं रुपेंयाको खाध्यन्न , पौष्टिक आहार लगायतका सामाग्री नगरबासीलाई वितरण गरेका थिए । निर्माण व्यवसायी तथा समाजसेवी  थापा कनकाई क्षेत्रमा हुने मृत्यु संस्कार तथा शोकका अवसरमा पनि आफ्नै खर्चमा समवेदना व्यक्त गर्दै आएका छन्।

थापाले केही वर्षदेखि आर्थिक अवस्था कमजोर भएका तथा अन्य परिवारमा समेत पुगेर शोकमा सहभागी हुँदै परिवारजनप्रति समवेदना प्रकट गर्ने गरेका छन्। सामाजिक सेवाको भावनाले आफूले सक्ने सहयोग र उपस्थितिमार्फत दुःखमा रहेका परिवारलाई साथ दिने गरेको उनको भनाइ छ।

सडक मर्मतदेखि शोकमा परेका परिवारलाई साथ दिने उनको निरन्तर सामाजिक पहलले समुदायमा नागरिकस्तरबाट गर्न सकिने सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।