बिर्तामोड । जन्मदिनमा गरिने खर्च र उत्सवलाई सामाजिक सेवासँग जोड्दै बिर्तामोडस्थित होटल द किङ्सबेरीले रक्तदान कार्यक्रम आयोजना गरेको छ। होटलका अध्यक्ष रवि शर्मा धितालको आईतबार पर्न गएकाे  जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा होटल तथा क्यासिनोमा कार्यरत कर्मचारीसहित ८४ जनाले रक्तदान गरेका हुन्। नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

जन्मदिनलाई केवल व्यक्तिगत खुसी र मनोरञ्जनमा सीमित नगरी त्यस अवसरमा हुने खर्चलाई मानवीय सेवामा लगाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको होटलकी प्रबन्ध निर्देशक जानु धितालले बताइन्।

उनका अनुसार जन्मदिन मनाउने क्रममा हुने अनावश्यक खर्चलाई कटौती गरेर त्यसलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरिएको हो।

‘जन्मदिनको खुसी अरूसँग बाँड्न सकियो भने त्यो अझ अर्थपूर्ण हुन्छ,’ धितालले भनिन्, ‘एउटा व्यक्तिले दिएको रगतले संकटमा परेको अर्को व्यक्तिको जीवन बचाउन सहयोग पुग्न सक्छ। त्यसैले जन्मदिनलाई सेवाको अवसर बनाउने प्रयास गरेका हौं।’

पछिल्लो समय झापामा रगतको माग बढिरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ। संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग गरिनेछ।

रक्तदान कार्यक्रममा होटल तथा क्यासिनोका कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो। नियमित रूपमा रक्तदान गर्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने आयोजकको विश्वास छ।

होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा सहभागी रक्तदाता, रेडक्रसको प्राविधिक टोली तथा सहयोग गर्ने सबैप्रति होटल व्यवस्थापनले धन्यवाद व्यक्त गरेको छ।

जन्मदिनमा केक काटेर खुसी मनाउने परम्पराभन्दा एक कदम अघि बढ्दै किङ्सबेरीले यसपटक जन्मदिनको खुसीलाई ८४ पिन्ट रगतका रूपमा समाजलाई दिएको छ।