काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै छन् । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा नेपाल सरकारसँग छलफल गर्न उहाँ नेपाल आउन लागेका हुन् ।
दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार तीनदिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन् । उनले बाढीपहिरोमा बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्नुहुने कार्यक्रम रहेको छ ।
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजना निर्माणमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डुसान इनर्जीबिलिटीका छ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी छन् ।
परराष्ट्रमन्त्री खनालसँगको भेटमा विदेशमन्त्री चोले बेपत्ता कोरियाली नागरिकको खोजीलाई थप प्रभावकारी र तीव्र बनाउन नेपाल सरकारसँग सहयोगका विषयमा छलफल गर्नुहुने बताइएको छ ।
भेटवार्तामा बाढीपहिरो प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोग गर्ने उपायका साथै नेपाल–दक्षिण कोरिया सम्बन्धका विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।
यसै क्रममा विदेशमन्त्री चोले नेपालमा खटिएको कोरिया डिजास्टर रिलिफ टिम केडीआरटीका सदस्यलाई घटनास्थलमै पुगेर भेट गरी उनीहरूको कामको जानकारी लिनुका साथै हौसला प्रदान गर्नुहुने कार्यक्रम रहेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री चोले बेपत्ता नागरिकको खोजीका लागि दक्षिण कोरियाली पक्षबाट परिचालित कम्पनीका प्रतिनिधिसँग समेत भेटवार्ता गर्नुहुनेछ ।
दक्षिण कोरियाली सरकारले खोज तथा उद्धारका लागि नेपाल पठाएको केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग सहकार्य गर्दै बेपत्ता नागरिकको खोजी गरिरहेको छ ।
उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, खोजी कुकुर तथा थर्मल इमेजिङलगायतका अत्याधुनिक उपकरण प्रयोग गरिरहेको छ। कठिन भौगोलिक क्षेत्रमा बाढीपहिरोका कारण पहुँचमा समस्या रहेकाले प्रविधिको प्रयोगमार्फत खोजीलाई तीव्र बनाइएको हो ।
विदेशमन्त्री चोको नेपाल भ्रमणलाई बाढीपहिरोपछि दुई देशबीचको खोज तथा उद्धार सहकार्यलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ ।








































