बिर्तामोड : झापाको बिर्तामोडस्थित गिरी बन्धु टी स्टेट प्रालिले गिरीबन्धु  राज्यको सम्पत्ति नभएको बताएको छ । सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको दाबी गरेका हुन् । 

उनले आफ्नो निजी सम्पत्तिलाई सरकारको भएजस्तो गरी सार्वजनिक भइरहेको प्रतिक्रिया र टिप्पणीप्रति कडा आपत्ति जनाएका हुन् । 

 सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति उनले आपत्ति प्रकट गरेका हुन् । 

आज बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरी बन्धु व्यवस्थापनले चिया बगानको जग्गा निजी भएको जनाउँदै त्यसमा सरकारको कुनै हक दाबी नलाग्ने बताएको हो ।

गिरीले आफूहरूको निजी जग्गालाई सरकारी जस्तो गरेर सञ्चार माध्यमले प्रचारप्रसार गरेको भन्दै तीव्र असन्तुष्टि जनाए । 

गिरीले तीव्र सहरीकरणको चपेटामा परेको बिर्तामोड क्षेत्रमा चिया बगान राख्न नहुने जनाउँदै जसरी पनि चिया बगानलाई अर्को स्थानमा स्थानान्तरण गरेर गिरी बन्धुको जग्गालाई व्यवस्थित सहरीकरणको विकासका लागि प्रयोग गर्ने बताए ।

उनले आफ्नो निजी सम्पत्ति सरकारलाई चाहिए नगरपालिका वा मालपोत कार्यालयको मूल्याङ्कनका आधारमा बेच्ने जनाउँदै सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा बगान स्थानान्तरणको सुनिश्चितता गर्न आफूहरू तयार भएको बताए ।

केपी ओली सरकारको नेतृत्वको पालामा संसदबाट भूमिसम्बन्धी ऐन संशोधन भएको जनाउँदै गिरीले त्यसमा कुनै नेताको नाम जोड्न आवश्यक नभएको र त्यो प्रक्रियासंगत भएको स्पष्ट पारेका छन् ।

कुनै पनि उच्च राजनीतिक नेतृत्वलाई जोडेर हेर्न नहुने बताउँदै गिरीले सर्वोच्च अदालतको आदेश अनुसार आवश्यक मापदण्ड पूरा गरी जग्गा सट्टापट्टा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने जनाएका छन् ।