काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त एआईजी दर्जामा ६ जना बढुवा सिफारिस भएका छन्  एक नम्बरमा चन्द्रकुबेर खापुङ सिफारिस हुँदा नमस्ते टोली भनेर चिनिने अनुसन्धान विभागबाट समायोजन भएकाहरु छुटेका छन् ।

अत्यधिक चर्चामा रहेको राअ नमस्ते टोली यो बढुवाबाट बाहिरिएको छ । बरियताक्रम अनुसार चन्द्रकुबेर खापुङ,लालमणी आचार्य र कृष्णहरी शर्मा पोखरेल सिनियर ब्याचबाट बढुवा सिफारिस भएका छन् । १११ को ब्याचबाट दानवहादुर कार्की,राजन अधिकारी र डा मनोज केसी बढुवा हुँदा राअबिबाट आएको टोलीका शिद्धिविक्रम शाहलगायतको टोली भने रोकिएको ।

उनीहरुले एसएसपीसम्म आफूहरु अगाडि बढुवा भएको भन्दै एआइजी बढुवामा सिनियरिटीका लागि दबाब बढाएका थिए ।

उक्त टोली बाहिरिदा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा भर्ना भएको १११ टोलीबाट आगामी प्रहरी महानिरीक्षक सुनिश्चित भएको छ ।

नेपाल प्रहरीको ‘१११ टोली’ ले डीआईजी बढुवाको वरियता कायम हुनुपर्ने विषयलाई जोडतोडका साथ उठाइरहेको थियो ।

तर, राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन भएको टोलीले त्यस्तो अभ्यास अबलम्बन गरिनु हुँदैन भन्दै आफ्नो पक्षको अडानलाई राजनीतिक नेतृत्वमार्फत व्यापक बनाएको थियो ।

प्रहरी इन्स्पेक्टर दर्जामा २०५४ चैत १८ मा नियुक्त भएको टोलीलाई ‘१११’ भनिन्छ । उक्त टोलीले अहिले अनुसन्धान विभाग सेवा परिवर्तन गरी प्रहरी सेवामा आएका अधिकृतलाई रोक्ने प्रयास गरेका थिए ।

उनीहरु २०५३ पुस ५गते तत्कालीन राष्ट्रिय गुप्तचर विभाग ९पछि अनुसन्धान विभागको अधिकृतमा नियुक्त भई २०५७ सालमा नेपाल प्रहरीमा समायोजित भएका थिए ।

१११ टोली २०५५ वैशाखबाट तालिममा प्रवेश गरेको थियो । अनुसन्धान विभागबाट समायोजित टोलीले २०५८ साउन १८ मा इन्स्पेक्टरको टोलीसँगै तालिममा सरिक भएको थियो ।

नेपाल प्रहरीको विद्यमान व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने साउन १७ गते चन्द्रकुवेर खापुङको आईजी बन्ने बाटो खुलेको छ । उनले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन् ।

त्यसपछि एआईजी बढुवाको वरियताअनुसार नै आईजी नियुक्त भए दानबहादुर कार्कीले पालो पाउने छन् । यसमध्ये लालमणि आचार्य जेठ ११ गते उमेरहदका कारण अवकास हुन्छन् ।  खापुङ, आचार्य र शर्मा २०५२ कात्तिक २७ मा प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।

बीचमा ३० वर्षको सेवा हद हेरफेर भएर उमेरहदले अवकाश हुने व्यवस्था भएमा अहिलेका आइजी दीपक थापाले २०८४ चैत ३ गतेसम्म जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसपछि मात्रै दानबहादुर कार्की, राजन अधिकारी वा डा मनोजकुमार केसीमध्येबाट आईजी छ्नौट हुन्छ । नमस्ते टोली उमेर र सेवा हदका कारण त्यसआगावै अवकाशप्राप्त भइसक्छ ।