बिर्तामोड, — बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति किरण गुरुङ नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको स्थानीय संगठन विस्तार तथा पार्टीको महाधिवेशन प्रक्रियाअन्तर्गत बिर्तामोड नगरपालिका–४ बाट गुरुङ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन्।
विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका गुरुङले कन्काई आदर्श क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हाल्दै विद्यार्थीका हकहित, शैक्षिक सुधार तथा क्याम्पसका समसामयिक विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको क्षेत्रीय प्रतिनिधिमा भएको निर्वाचितलाई स्थानीयस्तरमा युवा नेतृत्वको उदयका रूपमा हेरिएको छ। गुरुङ निर्वाचित भएपछि नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा युवाहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र गतिशील बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारीपछि प्रतिक्रिया दिँदै गुरुङले युवा नेतृत्वलाई प्राथमिकताका साथ अगाडि बढाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउन आफू सक्रिय रहने बताएका छन्। साथै, वडा तथा क्षेत्रको समग्र विकास, युवाका सवाल र जनसरोकारका विषयमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
गुरुङको निर्वाचितसँगै विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारको नेतृत्वतर्फ युवा पुस्ताको सहभागिता बढ्दै गएको संकेत देखिएको स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइ छ।










































