झापा — विद्यार्थी राजनीतिमा सक्रिय युवा नेता नियोग पोखरेल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको पार्टी संगठन विस्तार तथा महाधिवेशन प्रक्रियाअन्तर्गत पोखरेल अर्जुनधारा नगरपालिका–११ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।

बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु प्रत्यक्ष कार्यकारी सदस्यका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका पोखरेल विद्यार्थीका हकहित, शैक्षिक सुधार तथा क्याम्पसका समसामयिक विषयमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थी राजनीतिबाट सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय बन्दै आएका पोखरेलको क्षेत्रीय प्रतिनिधिका रूपमा भएको चयनले स्थानीय तहमा युवा पुस्ताको राजनीतिक सहभागितालाई थप बल पुगेको स्थानीय कांग्रेस कार्यकर्ताहरूको भनाइ छ। पार्टी संगठनमा युवाको सक्रियता र नेतृत्व विकास आवश्यक रहेको बताइरहेका बेला पोखरेललाई वडा तहबाट महाधिवेशन प्रक्रियामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको हो।

पोखरेलको चयनपछि स्थानीय कांग्रेस नेता, कार्यकर्ता तथा युवा पंक्तिले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले पोखरेलको सक्रियता र युवा नेतृत्वले अर्जुनधारा क्षेत्रमा पार्टी संगठनलाई थप गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

नयाँ जिम्मेवारी प्राप्त गरेपछि पोखरेलले पार्टी संगठनलाई बलियो बनाउनेसँगै युवाका सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। उनले वडा तथा क्षेत्रको विकास र जनसरोकारका विषयमा निरन्तर सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

स्ववियुमा विद्यार्थी प्रतिनिधिका रूपमा काम गर्दै आएका पोखरेल अब नेपाली कांग्रेसको महाधिवेशन प्रक्रियामा अर्जुनधारा–११ को प्रतिनिधित्व गर्नेछन्। विद्यार्थी राजनीतिबाट पार्टीको मूल सांगठनिक संरचनातर्फ उनको यो प्रवेशलाई स्थानीयस्तरमा युवा नेतृत्व विकासको महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।