कनकाई : झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा एक दिने लागूऔषध दुव्र्यसन रोकथाम सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । सुरुङ्गा स्थित लायन्स क्लबको सभाहलमा आज बिहिबार एक दिने प्रशिक्षण प्रदान गरिएको हो । 

कन्काई नगरपालिकाको आयोजना तथा लागू औषध दुव्र्यसन रोकथामा अभियान नेपालको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम गरिएको हो । 

नगरका जनप्रतिनिधि,  शाखा प्रमुख, आमा समुह, राजनीतिक दल, स्वास्थ्यचौकीका  स्वंमसेविका , बिभिन्न संघ संस्थाका प्रतिनिधि बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी लगायतलाई प्रशिक्षण प्रदान गरिएको थियो  । 

पूर्व एसएसपी बसन्तराज कुँवरले उनीहरुलाई प्रशिक्षण दिएका हुन् । नार्कोनान् दक्षिण एसिया संयोजक तथा पूर्व एसएसपी कुँबरले स्थानीय सरकारले लागूऔषध नियन्त्रण सम्बन्धि कार्यक्रम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।


कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको  कार्यक्रममा स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, गृहमन्त्रालयका विश्वामित्र कुईकेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी  रुगमबहादुर कुँवरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन लागू औषध दुव्र्यसन रोकथामा अभियान नेपाल प्रदेश नं. १ का संयोजक इन्द्रप्रसाद ओलीले गरेका थिए ।