झापा । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट अर्जुनधारामा प्राप्त स्वास्थ्य (प्राविधिक) सामग्री आज शनिश्चरे अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालबाट प्राप्त हुने सेवालाई प्रभावकारी बनाउन सामग्री प्राप्त भएकाे हाे । 


अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनको पहलमा स्वास्थ्य मन्त्रालयबाट दसैँपछि प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखाले शनिश्चरे अस्पताललाई हस्तान्तरण गरेको हो । नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच अस्पतालका डा. आशिष पौडेललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

 करिब ५० लाखबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । विशेष गरेर १५ लाख ८९ हजारको पोर्टेबल युएसजी कलर डप्पलर, ५ लाख ३४ हजारबराबरको प्यासेन्ट मनिटर, २ लाखबराबरको आइस लाइन्ड रेफ्रिजेरेटर, लाखौँ मूल्यको विभिन्न साइजमा अक्सिजन सिलिण्डरलगायत प्राविधिक स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको छ ।

 स्वास्थ्य सामग्री प्राप्त हुनुमा पूर्व माननीय शेरबहादुर इङनामको पहल रहेको भन्दै उनैको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै उनले आफ्नो सानो पहलबाट अस्पताललाई सामग्री प्राप्त भएको र स्थानीयले स्तरीय स्वास्थ्य सेवा पाउँदा गर्व लागेको बताए ।

 नगर प्रमुख गोम्देनले जनप्रतिनिधिहरुको टिम स्प्रिटप्रति गर्व गर्दै नगर समृद्धिका लागि अझ बढी काम गर्न सकिने विश्वास व्यक्त गरे । सेवा दिने सवालमा सम्वेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले सेवाभावलाई अपनत्व ग्रहण गर्दै काम गर्दा गुणस्तरीय सेवा प्रवाह गर्न सकिने सुझाए ।

 चाँडै अस्पतालको नयाँ भवन निर्माणको काम थालनी हुने जानकारी गराउँदै उनले सेवाग्राहीको अपेक्षा र गुनासोलाई सम्बोधन गर्न सबै एकजुट हुनुपर्ने दोहोर्याए । प्रविधिमैत्री अस्पताल र दक्ष जनशक्तिले अस्पतालको उचाइ बढ्ने आशा व्यक्त गरे ।

 अस्पतालका डा. आशिष पौडेलले स्वागत गरेको कार्यक्रममा स्वास्थ्य सामग्री प्राप्त गर्दा पहलकद्मी गरेका वडा नं. १ का अध्यक्ष उपेन्द्र बस्नेत र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा ९ नम्बर वडाध्यक्ष भिष्म मिश्रलगायतले नगरको अस्पतालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्दो पहल गर्ने बताए ।

प्राविधिकरुपमा अस्पताललाई सक्षम बनाएर जनशक्ति राख्न पनि पहल गर्ने प्रतिबद्धता जनाएका उनीहरुले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सबैको पहलबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेमा विश्वस्त रहेको सुनाए ।