हल्दिबारी  : झापाको हल्दिबारी गाउँपालिकामा ‘हल्दिबारी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । अस्पतालको आज शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । 

 गाउँपालिकाले आन्तरिक स्रोत परिचालन गरी १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरंग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । 

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्राप्त हुने गाउंपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले जानकारी दिए । 

अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेको छ । हल्दिबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेट अनुरुप हल्दिबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न रू १८ करोडको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

सोही अस्पताल अन्तरगत अस्थायी रुपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी–५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ का सांसद लिङ्देन, प्रदेश सभा (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन लगायतले मन्तव्य राखेका थिए ।