अर्जुनधारा १० नम्बर वडा कार्यालयले आयोजना गरेको दुई दिने निशूल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ  । स्थानीय शुभतारा एजुकेशन फाउण्डेशनको प्रांगणमा नोवेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न ११ वटा विभागमा ६१५ जनाले १ हजार ४२६ पटक स्वास्थ्य परीक्षण गराएको डा।कुमुदकुमार झाले जानकारी दिए ।

उनका अनुसार भिडिओ एक्सरेमा २०६, इसीजीमा १०३, रगत परीक्षणमा १९६, जेनरल मेडिसिनतर्फ २११, स्त्री रोगतर्फ ७२, हाडजोर्नीतर्फ १४३, बाल रोगतर्फ ४७, नाक, कान, घाँटीतर्फ १०१, सर्जनतर्फ ३६, छाला रोगतर्फ ८४, दाँततर्फ ६१ र आँखातर्फ १८५ जनाले परीक्षण गराएका छन् । आँखातर्फ २ जनाको सामान्य शल्यक्रिया पनि गरिएको उनले बताए ।

काठमाडौँको सत्याग्रह साप्ताहिकको सहआयोजना रहेको शिविर समापनमा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले छोटो समयमा गरिएको व्यवस्थापनमा नोवेल अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी रहेको भन्दै धन्यवाद दिएकी थिइन् ।

नोवेलमा कार्यरत जेनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग, नाक, कान, घाँटी, रेडियोलोजिस्ट, छाला रोग, शल्यक्रिया, दन्तरोगका डाक्टरसहित प्राविधिक, ल्याव टेक्निसियन र स्टाफ नर्स शिविरमा खटिएका थिए ।

वडाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नोवेल शिक्षण अस्पताल र स्थान उपलब्ध गराएको शुभतारा एजुकेशन फाउण्डेशनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम वडा सचिव विक्रम पोख्रेलले सञ्चालन गरेका थिए ।