झापामा हात्तीपाइले रोगविरुद्ध चार वटा निर्णय गरिएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आज बसेको जिल्ला स्तरीय समन्वय समितिको बैठकमा त्यस्तो निर्णय गरिएको हो ।

बैठकले औषधि सेवनका लागि जिल्लाका सबै राजनीतिक दललाई आह्वान गर्न लगाउने, जिल्ला प्रशासन कार्यालय मातहत सबै सरकारी कार्यालयमा औषधि सेवनका पत्राचार र निर्देशन दिने, जिल्लाका सबै सार्वजनिक तथा निजी विद्यालयमा औषधि सेवनका लागि कार्यक्रम गर्ने, जिल्लाका औषधि व्यवसायीलाई अभियानमा आबद्ध गराउने निर्णय गरेको हो ।

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल विद्यालयस्तरमा गएर किन औषधि सेवन गर्ने रु भन्ने सचेनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  “विद्यार्थीहरुको पठनबोध धेरै हुन्छ”, उहाँले भन्नुभयो, “घर र समाजमा सचेना फैलाउन यो उपयोगी हुने देखिन्छ ।”

झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, शहरीबासी, उच्च वर्ग र सरकारी कर्मचारीहरुले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । 


जिल्लामा अघि खुवाइँदै आएको दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुई वटा औषधि कम्तीमा पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । 

जिल्ला समन्वय समिति झापा प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिक,

भद्रपुर नगपालिकाका नगरप्रमुख गणेश पोखरेल, रेडक्रस भद्रपुर उपशाखा सभापति गोपाल गिरी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर, पत्रकर महासंघ झापाका कार्यसमिति सदस्य सन्तोष शर्मा, गैसस महासंघ झापाका उपाध्यक्ष कुमार चुँँडाल, जसपा नेपालका झापा सचिव शिबन सोराली, औषधि व्यवसायी संघ झापाका सचिव ससिम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।