स्वास्थ्य कार्यालय झापाले हात्तीपाइले रोगविरुद्धको अभियानबारे झापाका सञ्चारकर्मीसंग अन्तरक्रिया गरेको छ ।  कार्यालयले आज सोमबार बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकारहरुसंग अन्तरक्रिया गरेको हो । 

झापा जिल्लामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको १२ औं पटकको अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । उनका अनुसार यस पटक झापामा ९ लाख ९ हजार ५७३ जनालाई  हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । 

स्वास्थ्य कार्यालय झापाले यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको जनाउंदै यस पटक उचाइ नापेर औषधि सेवन गराइने उनले बताए । 

झापामा तीन प्रकारका औषधि सेवन गराइने भएको छ । अघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक ‘आइभरभेटिङ’ नामक औषधि थपिएको हो । अघिल्लो पटक लगातार पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्ने भए पनि एक वटा औषधि थप भएपछि दुई वर्ष मात्र सेवन गर्दा हुने कार्यालयका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले बताए । 

झापामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन नौ वटा पालिकाले हात्तीपाइले रोगविरुद्धको औषधि कार्ड स्थानीयबासीलाई दिने भएका छन् । अघिल्लो वर्ष झापा गाउँपालिकाले उक्त कार्ड प्रयोग गरेको थियो ।

संक्रमण भएको लामोसम्म लक्षण नदेखिने भएकाले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अपेक्षाकृत हुन नसकेको स्वास्थ्य कार्यालयको दाबी छ ।  झापाका १५ वटा पालिकामा यो अभियान अन्तरगत रू एक करोड ५० लाख बजेट आएको जनाइएको छ । 

कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।