रोटरी क्लब अफ बिर्तामोडको पहलमा खरिद गरिएको हेमो डायलासिस मेसिन सोमबार बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

रोटरियनहरूको मानवीय सहयोगमा खरिद गरिएको ६ वटा हेमो डायलासिस मेसिन बिर्तामोड नगर अस्पतालले प्राप्त गरेको हो । डायलासिस मेसिनका साथै डायलासिस गर्ने कक्षमा चाहिने सबै उपकरण रोटरीले खरिद गरेर प्रदान गरेको हो ।

आज सोमबार एक कार्यक्रमकाबीच बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले डायलासिस कक्षको उद्घाटन गरेकी छन् ।  कार्यक्रको प्रमुख अतिथि नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले गरेको सहयोगले अबका दिनमा  मिर्गौला रोगीहरूले डायलासिस गर्न अन्यत्र जानु नपर्ने  भन्दै खुसी ब्यक्त गरेकी छन् ।  

डायलासिस कक्षमा चाहिने सबै उपकरण तथा तालिम आयोजनाका लागि रोटरीले करिब ८० लाख रुपैयाँ खर्चिएको जनाइएको छ ।  यी सबै सहयोग रोटरी क्लब अफ बिर्तामोड तथा रोटरी क्लब अफ मापुसा गोवा भारतको संयुक्त पहलमा रोटरी फाउण्डेसनले उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीले जानकारी दिए । उनले मानवीय सेवामा रोटरीले अझ खुल्ला ह्रदयले सहयोग गर्ने बताए । 

 उनले सहयोगबाट प्राप्त सबै उपकरण तथा डायलासिस कक्षको रेखदेखका लागि डा. लक्ष्मीप्रसाद मैनालीको नेतृत्वमा निगरानी गरिने जानकारी दिए ।  बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुव शिवाकोटीको कार्यकालमा उपकरण खरिदका लागि नगरपालिकाको तर्फबाट ३० लाख रुपैयाँ रोटरीलाई उपलब्ध गराइएको थियो । कोभिडका कारण रोकिएको यो काम अहिले मात्र भएको हो ।