क्यानसर रोगबाट पीडित झापाको बाह्दशी गाउँपालिका ७ स्थित डाँगीबारीकी २८ बर्षिया राधा मुर्मुको उपचारमा समस्या भएको छ ।

अति विपन्न समुदायकी मुर्मुको घांटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको हो । आर्थिक अवस्था एकदमै नाजुक भएकी मुर्मुको उपचारमा करिब ९ लाख रुपैयाँ खर्च भइसकेको र अझै ७ लाख वढी रुपैयाँ खर्च लाग्ने भएपछि अहिले उनी घरमै  बस्न बाध्य भएकी छिन् ।  

झापा बिर्तामोडको गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पिडित सहयोग संस्थाले सोमवार (आज) मुर्मुको उपचारमा आर्थिक सहयोग गर्न अभियान सञ्चालन गर्ने पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले बिरामी मुर्मुको घरमै पुगेर उपचारमा सहयोग गर्न सवै समक्ष आग्रह गरेका छन् । उनले मुमर्मुको आर्थिक अवस्था अत्यन्त दहनीय भएको र सम्पत्तीका नाममा केही पनि नभएकाले सवैलाई सहयोग गर्न अपिल समेत गरेका छन् । अध्यक्ष बस्नेतले ‘सात दिन राधा मुर्मुलाई’ भन्ने अभियान अन्तरगत सवैलाई आर्थिक संकलनमा जोडिन पनि आग्रह गरेका छन् ।

 

बिरामी मुर्मुका श्रीमान फुसन मुर्मु बिगत ८ महिनादेखि सवारी ज्यान मुद्दामा झापा कारागारमा छन् । उनले चालाएको मोटरसाइकलले एक ब्यक्तिलाई ठक्कर दिदा ती ब्यक्तिको मृत्यु भएको थियो । उनको साथमा सवारी चालक अनुमति पत्र नभएका कारण उनी कारागार चलान भएको स्थानीयले बताए । मुर्मुका श्रीमान फुसन सशस्त्र प्रहरीमा कार्यरत रहेको जनाइएको छ ।

पीडित राधाका ९ र ५ बर्षिया दुई छोरी र एक बर्षिय छोरा छन् । थाइराइड भएको आशंकामा स्वास्थ्य परिक्षणका लागि अस्पताल जाँदा क्यान्सर भएको पत्ता लागेको उनले बताइन् । ४ महिना अगाडि चितवनको भरतपुर क्यान्सर अस्पतालमा घाटीको शल्यक्रिया गरे पनि थप उपचारमा समस्या भएको हो । 

 

कार्यक्रममा बाह्दशी–७ का वडाध्यक्ष मित्र भट्टराईले मुर्मुको उपचारमा वडा तथा आफ्नो ब्यक्तिगत तर्फबाट पनि सहयोग रहने बताए । उनले अभियान सञ्चालन गरेर भएपनि मुर्मुको उपचार गरिने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका सभापति गंगा प्रसाई, बाह्दशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष पुष्पलाल धमाला, टंक कार्कीलगायतले मुर्मुको उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनलाई आर्थिक सहयोग गर्नेले माछापुच्छ«े बैंक लिमिटेडको घैलाडुब्बा शाखाको राधा मुर्मको नाममा रहेको खाता नं. १५००९६९५२१५०००१४ मा आर्थिक सहयोग गर्न सकिनेछ ।