लक्ष्मीपुर ।
लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको कनकाई र अर्जुनधारामा कार्यालय रहेको संस्थाले शनिवार (आज) अर्जुनधारा ५ स्थित बिहीबारे बजारमा साधारणसभा गरेको हो ।
संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्याक्रममा कोशी प्रदेश सांसद चिन्तन पाठक (त्रिलोचन) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य हेमकुमारी चौधरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशवप्रसाद ओझाले गरेका थिए ।
कनकाई ८ र ९, अर्जुनधारा ५ साविक ६ साथै बिर्तामोडकोसमेतका केही क्षेत्रलाई शुद्ध खानेपानी बितरण गर्ने उदेश्यले स्थापना भएको संस्थामा हाल ७८१ वटा धारा जडान गरिएको अध्यक्ष कटुवालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले १० हजार लिटरसम्मको पानीको महसुल १५० रुपैयाँ लिने गरेको सदस्य बुद्धिसागर कट्टेलले जानकारी दिए । उनका अनुसार हाल नयाँ सदस्यलाई १० हजार रुपैयाँमा धारा जडान गरिदै आएको छ भने पुराना सदस्यलाई जम्मा भएको रकमबाट घटाएर जडान गरिने गरेको छ । संस्थामा हाल एक हजार एकसय ३५ जना उपभोक्ता रहेको कट्टेलले बताए ।
आर्थिक बर्ष २०७९÷८० मा बिभिन्न शिर्षकमा ९१ लाख ५५ हजार ८५ रुपैयाँ ९४ पैसा आम्दानी गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाठकले शुद्ध खानेपानी अति आवश्यक भएकाले प्रदेश सांसद भएका नाताले खानेपानी सुधारमा सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
त्यस्तै अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्का (हरि) ले अति बिपन्न ५० घरपरिवार पहिचान गरी निःशुल्क खानेपानीको धारा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा जग्गादाताका तर्फबाट छबिलाल लम्साल, हस्त–पद्मा खानेपानी घैलाडुब्वाका उपाध्यक्ष गोबिन्द श्रेष्ठ, उपभोक्ताहरुका तर्फबाट देवराज बुढाथकीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।