बिर्तामोड : 

झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

हिजो शुक्रबार राति ९ः५० बजेको सयमा  बनियानी स्थित पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

दुर्घटनामा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो ।

त्यस्तै, सोही मोटरसाइकलको पछाडि बसेका कचनकवल ४ बस्ने १४ वर्षीय सन्दीप माझी गम्भीर घाइते भएका छन् । उनलाई ओमसाई पाथिभरा हस्पिटलबाट बिएन्डसी हस्पिटल लगिएको छ ।

त्यस्तै, मे  ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।

उनीहरुको ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।