बिर्तामोड । 

झापाको बिर्तामोडमा दुई वटा बैंकमा तोडफोड भएको छ ।  ज्योति विकास बैंक र एभरेस्ट बैंकमा आज तोडफोड भएको प्रहरीले जनाएको छ ।

दुर्गा प्रसाईले नेतृत्व गरेको  राष्ट्र राष्ट्रियता र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरूले तोडफोड गरेको प्रहरीले जनाएको छ । 

गत वैशाख २५ गते एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कले  ऋणीलाई टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुसीराम चौधरीले आत्महत्या गरेको दाबी गरिएको  थियो । 

त्यसैको विरोधमा दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा सङ्गठन नागरिक युवा दस्ताले बिर्तामोडमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । त्यस पश्चात बैङ्कमा तोडफोड गरेका थिए । 

कार्यकर्ताहरूले ज्योति विकास बैंक प्रबेश गर्न खाजेका थिए । उनीहरुले मेन गेटमा ताला लगाएका थिए । त्यस पश्चात प्रहरीले हस्तक्षेप गरेको थियो । 

प्रदर्शनकारीको ढुङ्गामुढाबाट एभरेस्ट बैंक रहेको  मायादेवी कम्प्लेक्समा क्षति पुगेको छ । कम्प्लेक्सको सिसाहरु फुटेको छ ।  

बैङ्क तोडफोडमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

एभरेस्ट बैङ्क र ज्योति विकास बैङ्कको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गर्ने बिर्तामोड ५ बस्ने अन्जेस राई (बुलेट किराँती), बुद्धशान्ति ४ का दिपेश राई, बिर्तामोड ३  का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल पक्राउ परेका छन् ।