बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन भएको छ । कुनै पनि अप्रिय घटना नभई सभ्यभव्य रुपमा वराहक्षेत्रस्थित सप्तकौशिकी नदीमा आयोजना भएको मेलाको समापन भएको हो ।
चार वटा महाकुम्भ शाही स्नानसँगै नागाबाबा, कठिया बाबा, अघोरी, सन्त, महन्त, महामण्डलेश्वरको आतिथ्यतामा महाकुम्भ मेला भव्य रुपमा आयोजना भएको थियो ।
महाकुम्भ मेलामा निम्बार्काचार्य, रामानन्दाचार्य, शङ्कराचार्यलगायतका सम्प्रदायले महायज्ञ अनुष्ठानलगायतका धार्मिक कार्यको आयोजना गरे ।
सम्प्रदायसँगै अर्चना बाबाधाम, कल्याणी माता, मानव सेवा फाउण्डेशन, खप्तडी बस्नेत बन्धु, घिमिरे विष्ट बन्धुगायतका धार्मिक सङ्घ सङ्गठनले कथा, पुराणलगायतका धार्मिक कार्य सम्पन्न गरे ।
आयोजक समितिका अनुसार मारवाडी सेवा समाज, रायमाझी वंश, नेवार एकता समाज, महिला समाजलगायतका दर्जनौं सङ्घसंस्थाले कुम्भमेलामा आउने भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानीको व्यवस्थापन गरे । नेपाल स्काउट, लगायतका सामाजिक सङ्घसंस्था र स्थानीय शैक्षिक संस्थाले योगदान गरे ।
महाकुम्भ मेलाको समापन समारोहमा मूल समारोह समिति मातहतका २६ समिति, सहयोगी संघसस्था, शैक्षिक संस्था, इन्टरनेट सेवाप्रदायक, स्वास्थ्य सेवा प्रदायक चतरा अस्पताल, सुरक्षाकर्मीलगायत संस्थालाई समापन कार्यक्रममा जगदगुरु बालसन्तले सम्मान गरेका छन् ।
२ हजार सुरक्षाकर्मी, १ हजार ६ सय स्काउट स्वयंसेवक कुम्भ मेलामा परिचालन गरिएको आयोजक समितिको भनाइ छ ।
आयोजक समितिका अनुसार कुम्भ मेलाका लागि सङ्घीय सरकारले ७० लाख रुपैयाँको भौतिक संरचना निर्माण ग¥यो भने प्रदेश सरकारले ५५ लाख रुपैयाँ बजेटमा खानेपानी तथा सरसफाइका लागि संरचना निर्माण गरिदिएको थियो ।