झापामा पूर्व प्रधानमन्त्री केपी ओलीसँग यहाँका बालबालिकाले सवाल–जवाफ गर्ने भएका छन् ।  झापा जिल्ला बाल सञ्जालको आयोजनामा यही जेठ ८ गते हुने ‘बासँग बालबालिका कार्यक्रम’मा पूर्व प्रधानमन्त्री ओलीसँग यहाँका बालबालिकाले सवाल–जवाफ गर्ने भएका हुन् ।

झापाको कनकाईमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिइएको छ । जिल्लामा रहेका बालबालिको समस्या समाधानार्थ कार्यक्रम आयोजना गर्न लागिएको बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए । 

“जिल्लाभरि रहेका बालबालिकाको समस्या नेतृत्वकर्ता समक्ष पु¥याउन कार्यक्रम गर्न लागिएको हो”, उनले भने,  “जसले यहाँका बालबालिकाका समस्या उजागर हुनुका साथै ती समस्या समाधानका लागि नीतिगत रुपमै पहलकदमी हुने विश्वास छ ।”

त्यसका लागि नेपाली जनबोलीमा ‘बा’को उपमा पाउनुभएका नेकपा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीसँग यहाँका बालबालिकालाई साक्षात्कार गराउन लागिएको उनले बताए । 

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यो कार्यक्रमले नीतिगत तहमै बालबालिका क्षेत्रमा काम गर्न दबाब सिर्जना हुनेमा विश्वास व्यक्त गरे । 

 अन्य जिल्लाको तुलनमा झापा बाल सञ्जाल बढी सक्रिय भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “बालबालिकामा सानैदेखि सकारात्मक ऊर्जा भर्न जरुरी छ, त्यसैले नेपाली राजनीतिमा विशेष छवि बनाउनुभएका केपी ओलीसँग बालबालिकालाई साक्षात्कार गर्न लागिएको हो ।”

झापाका १४ वटा पालिकाबाट प्रत्यके पालिकाबाट ३० जना र कनकाईका गरी छ सय बालबालिकाले कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम व्यवस्थापन समितिका सदस्य रविन्द्र लम्सालले बताए । उनले  पालिकागत रुपमै बालबालिकाले आफ्ना समस्या र प्रश्न राख्ने बताए ।  प्रत्येक पालिकाको टोलीसँग छुट्टाछट्टै ४–५ अनौपचारिक कुराकानी गर्ने कार्यक्रम समेत रहेको उनले बताए । 

कार्यक्रम सम्पन्न गर्न रू पाँच लाख ३७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रम आयोजनामा कनकाई नगरपालिकाको विशेष आर्थिक सहयोग रहेको छ भने अन्य पालिकाहरुले पनि सहयोग गरेको आयोजकले जनाएको छ ।

आईवाई डायनामिक इन्टरनेशनलले समन्वय गर्ने कार्यक्रम कनकाई उद्योग वाणिज्य सङ्घको सहभाहलमा हुनेछ । बासँग बालबालिका कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका बालबालिका सम्बन्धि दूरदृष्टि वा भिजन सुन्ने,  झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता जानकारी गराउने, केपी बा र बालबालिकाका अनुभव तथा सिकाइ आदानप्रदान गर्ने र जीवन भोगाइ र सङ्घर्षका बारेमा बालबालिकासँग साक्षात्कार गराउने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा श्रव्यदृश्य प्रस्तुति, कनकाई नगरपालिकाको बालमैत्री अभियानबारे जानकारी गराउनुका साथै गायन तथा नृत्य प्रस्तुति हुने कनकाई नगरपालिका बाल कल्याण अधिकारी उमानाथ ढकालले बताए ।