बिर्तामोड

चक्कु प्रहार गरेको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन् ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ स्थित विनिता ढकालको घरमा कोठा भाडा बस्दै आएका २८ वर्षीय धिमालले सोही घरको अर्को कोठामा डेरा गरी बस्दै आएका गौतमलाई जेठ ६ गते बेलुका ८ः३० बजे चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट पेट तथा शरीरको विभिन्न भागमा चोट लागि सख्त घाइते भएका गौतमको बिर्ता सिटी अस्पतालमा उपचार गरिएको थियो ।

गौतमलाई चक्कु प्रहार गरेर भागेका धिमाललाई प्रहरीले शनिबार बुद्धशान्तिस्थित पुलचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।