शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले आ.व. २०८०÷८१ का योजनाहरु सम्पन्न गरेको छ । वडाको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा चालु आ.व.को सम्पन्न गरेको  वडा नं. ४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले आफ्नो वडाको कुनै पनि नागरिक औषधि उपचारको अभावमा मर्नु पर्दैन भन्ने अठोट गरेका छन् । आफ्ना वडामा भएका विपन्न परिवारलाई वडा कार्यालयले निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । 

चालु आ.व.मा वडाका ६० विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष विष्णुप्रसाद  प्रसाईले जानकारी दिए । वडाका नागरिक सामान्य रोगबाट उपचार खर्चको अभावमा अकालमा मृत्यु हुनु पर्दैन  । उनले भने, हामीले उपचार गर्न नसक्ने विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदियौं । वडा सम्मृद्ध बनाउन भौतिक पूर्वाधार मात्र होइन, त्यहाँका नागरिकको स्वास्थ्य, शिक्षा, र गाँस बासको राम्रो प्रबन्ध हुनुपर्दछ । उनले भने, वडामा अधिकांश आदिवासी समुदायको बसोबास छ । जाडो महिनामा चिसो भुइमा सुत्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै आफुले निशुल्क ४२५ परिवारलाई निशुल्क खाट वितरण गरेको बताए । 

शिवसताक्षी ४ को सौर्य परियोजनामा झापा इनर्जी सोलर प्यानल ढुवानीका क्रममा आएको प्लाइलाई सदुपयोग गर्दै खाट निर्माण गरि नागरिकलाई वितरण गरिदियौं । यसले कम्तिमा पनि आदिबासी समुदायको नागरिकलाई भुईको चिसोबाट बचायौं । उनले भने, वडामा ठूला भन्दा पनि साना समस्याहरु धेरै रहेका छन् । वडाले नागरिकका आवश्यतालाई पहिचान गरी काम गर्दै आएको छ। 

वडाबासीहरु आफ्नो घरमा पानीको लागि ट्युबेल नहुँदा अरुको घरमा जानु पर्ने बाध्यतालाई हटाउँदै ८ घरपरिवारलाई ट्युवेबल वितरण गरिदिएको छ  ९ परिवारलाई शौचालय निर्माण गरिदिएको छ । 

वडाका महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बनाउन १० जनालाई ढाका बुनाई एडभान्स तालिम दिइएको छ । त्यस्तै ६० जना युवाहरुलाई कम्युटर तालिम दिई प्रमाण पत्र प्रदान गरिएको छ। 

वडाले विपन्न परिवारमा अपाङ्गता भएका ७५ जनालाई निशुल्क जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको वडा कार्यालयले जनाएको छ । त्यसैगरी वडाका ३९ जना महिलाहरुलाई सिलाई कटिङ्ग मेसिन वितरण गरिएको वडाध्यक्ष प्रसाईको भनाई छ । वडाले सिलाई कटिङ्ग गर्दै आएका महिलाहरुले उत्पादन गरेको सामाग्री विक्री वितरण गर्नका लागि समेत व्यवस्था मिलाउने सोच बनाएको अध्यक्ष प्रसाईले जानकारी दिए । 

अति विपन्न परिवारका कक्षा ११ र १२ मा अध्ययनरत ११ जना छात्र छात्रालाई निशुल्क साईकल वितरण गरेर उनीहरुलाई विद्यालय सम्म जान सहज गरिदिएको छ । विपन्न ४० परिवारलाई सुद्ध खाने पानीका लागि फिल्टर वितरण गरेर सुद्ध पानीको व्यवस्थान गरिदिएको वडा कार्यालयले जनाएको छ । 

चालु आ.व.मा पाथिभरा प्रा.वि. हुँदै खड्ग ताजपुरियाको घरतिर जाने ६६० मिटर र रंगेयाथान जाने १६० मिटर सडक कालो पत्रे गरिएको छ । वडामा हालसम्म ८ किलो मिटर सडक कालो पत्रे भएको अध्यक्ष प्रसाईको भनाई छ । वडा नं. ४ को बोलोचोक बजारमा १७ लाख बराबरको इटरलक ब्लक विछ्याएको छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट अन्य ८ ओटा बाटोहरु ग्राभेल गरिएको छ । बोलोचोक बजारमा रहको नरहमा रेलिङ्ग निर्माण, होलिया खेलामा फलामको पुल निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । 

वडामा रहेको त्रिभुवन मावि.मञ्जुश्री आ.वि., कनकाई प्रा.वि., पाथिभरा आ.वि.र जनता प्रा.वि लगायतका विद्यालयहरुमा शैक्षिक तथा भौतिक सुधारका लागि काम गरिदै आएको छ । 

नगरपालिकालेबाट विनियोजित ६० लाख बजेटबाट वडाले धेरै कामहरु गरेको अध्यक्ष विष्णु प्रसाई प्रसाईले जानकारी दिए । उनले भने, आगामी वर्षका लागि नीति तथा कार्यक्रम बजेट निर्माण गर्दै छौं । वडाले जनताको मन जित्ने गरी काम गर्नेछ ।