सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापासहित कोशी प्रदेशभरि ट्राफिक सप्ताह सुरु भएको छ ।
दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एकसाथ बिहिबारबाट ट्राफिक सप्ताह सुरु भएको हो कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुका साथै अनुगमन र कारबाही गरिने बताइएको छ ।
ट्राफिक सप्ताह कार्यक्रमको बिहीबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताए।
यता झापामा पनि दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बालबालिकालाई हेलमेट लगाइदिएर ट्राफिक सप्ताह सुरु गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट विभिन्न संघ संस्थासहित सुरु भएको ¥यालीले बिर्तामोड नगर क्षेत्रको परिक्रमा गरेको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेलमेट लगाइदिएर कार्यक्रम उद्घाटन गरेका थिए ।
नेपालमा मानिसहरूले अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।
एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनको भनाई छ । यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको भन्दै पुष्प भण्डारीलाई सम्मान गरिएको थियो ।
केयर फस्ट फार्मेसी एन्ड केयर फस्ट डाइग्नोष्टिक सेन्टरका सञ्चालक भण्डारीलाई प्रमुख जिल्ला अधिकारी बास्तोला सहितले सम्मान गरेका हुन् । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी अस्वस्थ भएमा निःशुल्क उपचार गर्दै आएका छन् । साथै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि आयोजना गरिंदै आएको विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएको ट्राफिक प्रहरीको भनाई छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर २ गण १ वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारालीका प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल सहारा नेपाल साकोसको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतल उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु न्यौपाने लगायतको सहभागिता रहेको थियो ।